१६ मंसिर, आईतवार
देवघाट, चितवन

     विभिन्न सामाजिक काममा सक्रिय चितवनको लक्की मिडिया हाउसले फेरिपनि देवघाटमा रहेको श्री रामजानकी बालिका आश्रममा आश्रित बालिकाहरुलाई सहयोग गरेको छ । एक बिशेष कार्यक्रमको आयोजना गरेर स्टेशनरी लगायतका सामग्री वितरण गरिएको हो ।

लक्की मिडिया हाउस चितवनले बालबालिकाहरुको पठन पाठनमा सहयोगका लागि भन्दै विभिन्न कार्यक्रमहरु गरिरहेको छ । मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले भविष्यमा देश हाक्ने बालबालिकाहरुलाई शिक्षा क्षेत्रमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । श्री रामजानकी बालिका आश्रममा बसोबास गर्ने ४० जना बालिकाहरुलाई स्टेशनरी लगायतका सामग्री वितरण गरिएको हो । बालिकाहरुको सेवा गर्दै आएको श्री रामजानकी बालिका आश्रम देवघाटका अध्यक्ष सावित्री टण्डनले लक्की मिडिया हाउसले गरेको सहयोगले बाल बालिकाहरुको उज्ज्वल भविष्य निर्माणमा टेवा पुग्ने बताउनु भयो । लक्की मिडिया हाउस चितवनले यस अघि निःशुल्क दन्त शिविर ,निःशुल्क आँखा शिविर ,निःशुल्क स्वास्थ्य परिक्षण ,सहभोज कार्यक्रम र लत्ताकपडा वितरण कार्यक्रम गरिसकेको छ । श्री रामजानकी बालिका आश्रम देवघाटमा आश्रित बालिकाहरुको सहयोग बितरण कार्यक्रममा चर्चित हाँस्य कलाकार सन्तोष पन्त प्रमुख अतिथी रहनु भएको थियो । पन्त अभिनित बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ यही पौष २७ गते देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुँदैछ । कलाकार पन्तले कलाकारिता मात्रै नभएर बालबालिकाहरुको सहयोगका लागि पनि काम गरिरहेको बताउनुभयो । लक्की मिडिया हाउस चितवनले बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को विशेष शो यही पौष २४ गते कलाकारहरुको साथमा गर्ने तयारी गरेको छ । कार्यक्रममा चलचित्र निर्माता लायन कृष्ण खनाल विशिष्ट अतिथि रहनु भएको थियो । कार्यक्रम लक्की मिडिया हाउसका जयराम पाठक “जेपी”ले सन्चालन गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया