चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ३’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । बुधवार साँझ नै निर्देशक थापाको जन्मदिनको अवसरमा पत्रकारलाई देखाइएको ट्रेलर विभिन्न प्राविधिक कारणले युट्युब रिलिज हुन सकेको थिएन । ट्रेलरमा पूर्णरुपमा कमर्शियल भ्यालु देखिएको छ । प्रेमदेखि कमेडीसम्म ट्रेलरमा समेटिएको छ ।
तर, दोहोरो अर्थ जनाउने संवादमार्फत् हँसाउने सोचबाट भने यो फिल्म पनि ग्रसित देखिन्छ । अभिनेता अनमोल केसीलाई भने डबल रोलमा देख्न सकिन्छ । उनी सुपरस्टार गायक प्रेम र एक साधारण युवक धनश्याम महर्जनको चरित्रमा प्रस्तुत छन् । ट्रेलर हेर्दा उनी फिल्ममा डबल रोलमा रहेको अनुमान लगाउन गाह्रो पर्दैन । अनमोलको डेब्यू गर्ल सुहाना थापासँग लभ केमेस्ट्री पनि देख्न सकिन्छ ।

ट्रेलरको एक दृश्यमा उनीहरु दुलहा-दुलहीको भेषमा विवाह मण्डपमा देखिएका छन् । सलोन बस्नेत, अर्पण थापा, रेअर राई, रबिन्द्र झालगायतका कलाकारहरुले पनि ट्रेलरमा राम्रो ‘स्क्रिन स्पेस’ पाएका छन् । अनमोललाई टिजरमा झैँ ट्रेलरमा पनि ‘मेगास्टार’ को रुपमा सम्बोधन गरिएको छ । ट्रेलर रिलिज कार्यक्रममा अनमोलले ‘ए मेरो हजुर’ को ब्रान्डमा आबद्ध हुन पाउँदा खुसी महशुस गरेको बताए ।
‘जिन्दगी नै भन्दिनँ’ र ‘परान’ बोलको गीतका कारण चर्चामा रहेको यस फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । निर्देशक थापा र सुमन पौडेलको कथा रहेको फिल्ममा सञ्जय लामाको छायांकन र हिमाल केसीको द्वन्द्व निर्देशन छ । कविराज गहतराज, रामजी लामिछाने, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको फिल्ममा दिर्घ खड्काले सम्पादन गरेका छन् ।
सैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर रहेको फिल्ममा सत्यम राना र अचुत बजगाइँले भिएफएक्स गरेका छन् । निर्देशक झरनाले फिल्मले एक स्टार र फ्यानको प्रेम वाचन गर्ने बताइन् । उनले भनिन्, ‘श्रीकृष्ण श्रेष्ठ र झरना थापाको ‘ए मेरो हजुर’ थियो । यसपछि साम्राज्ञी आरएल शाह र सलिनमान बनियाको ‘ए मेरो हजुर’ थियो । अब अनमोल र सुहानाको ‘ए मेरो हजुर’ छ ।’

तपाईको प्रतिक्रिया