राप्ती । राप्ती नगरपालिकामा पहिलोपटक असोज ३० मा आयोजना हुन लागेको ‘प्रथम राप्ती महोत्सव’ सफल बनाउन सरोकारवालाहरुबीच छलफल तिव्र बनाइएको छ । शनिबार महोत्सव मुल आयोजक समितिले नगरपालिका भित्रका विभिन्न टोल सुधार समितिका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

छलफलमा महोत्सवमा स्थानीय उत्पादनको बजार र प्रबद्र्धनलाई जोड दिन टोल सुधार समितिका अध्यक्षहरुले सुझाव दिएका छन । उनीहरुले महोत्सवले नगरको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई सहभागी गराएर सफल पार्नुपर्ने बताए । राप्ती उद्योग बाणिज्य संघका बिशिष्ट उपाध्यक्ष मार्कण्डेयप्रसाद गौतमले नगरको कृषि तथा पर्यटनमा महोत्सवले नयाँ आयाम थपिने बताए । त्यस्तै महासचिव परशुराम पाठकले महोत्सवको तयारीको बारेमा प्रस्ट पारेका थिए ।

महोत्सवको तिव्र प्रचार प्रसार भइरहेको र नगरका हरेक नागारिकलाई सहभागी हुन आग्रह गरिएको प्रचार प्रसार समितिका संयोजक दिनेश सेढाईले जानकारी दिए । छलफल कार्यक्रम महोत्सव मुल समितिका संयोजक तथा राप्ती उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार कँडेलको अध्यक्षतामा भएको थियो । राप्ती नगरपालिका र राप्ती उद्योग बाणिज्य संघको संयुक्त आयोजनामा यहि असोज ३० गतेदेखि कार्तिक ९ गतेसम्म महोत्सव आयोजना हुदैछ । महोत्सव उदघाटनका लागि पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दहाल असोज ३० गते चितवन आउने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया