विराटनगर- प्रदेश नं. १ सरकारले चीनबाट फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न पूर्वसतर्कता अपनाउन आवश्यक तयारी थालेको छ ।
प्रदेश सरकारले कोरोना भाइरसप्रति सजग र सचेत हुँदै त्यसका लागि पूर्व तयारी स्वरुप जनचेतनामूलक कार्यक्रम सञ्चालनदेखि सुरक्षा व्यवस्था तथा सङ्क्रमित व्यक्तिको उचित उपचारको व्यवस्थाको तयारी थालेको हो ।
सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर सो भाइरसको जोखिमबाट बच्न विराटनगरको रानी भन्सार, झापाको कांकरभिट्टा र इलामको पशुपतिनगर भन्सार, विराटनगर तथा चन्द्रगढी विमानस्थलमा यात्रु तथा प्रवेश गर्ने नाकामा नागरिकको जाँचको व्यवस्था मिलाइने भएको छ ।
यसैगरी कोरोना भाइरस सङ्क्रमित व्यक्तिको नमूना परीक्षणदेखि उनीहरुलाई अस्पतालमा राख्न आवश्य पर्ने आइसुलेटेड बेडहरुको व्यवस्थासमेत गर्ने तयारी भएको आज यहाँ आयोजित एक कार्यक्रम सो जानकारी दिएको हो ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले सरोकारवालाहरुसँग सुझाव लिन आयोजना गरेको कार्यक्रममा कोरोना भाइरस नामक माहामारीको उच्च जोखिमबाट बच्न प्रदेश सरकारले गरेका आवश्यक तयारी र निर्णय सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा चिकित्सकले भाइरसको चेकजाँचका लागि प्रदेशमा प्रयोगशालाको स्थापना हुनुपर्ने र सङ्क्रमित रोगीको उपचारका लागि प्रदेशका जिल्ला अस्पतालमा अलग उपचार कक्षको व्यवस्था हुनुपर्ने माग राखेका छन् । उनीहरुले शुरुको अवस्थामा रुघाखोकी, ज्वरो आएमा साधारण औषधि सेवन गर्ने, तातोपानी खाने र निको नभएमा स्वास्थ्यकर्मीसँग सम्पर्क गर्ने सुझाव दिएको छ ।
ज्वरो आउनु, श्वासप्रश्वासमा अत्यधिक समस्या देखिनु, रुघाखोकी लाग्नु कोरोना भाइरसको लक्षण हो भने यसबाट बच्न नियमित रुपमा साबुनपानीले हात धुने, खोक्दा र हाछ्यूँ गर्दा नाक र मुख छोप्ने, फ्लुजस्तो लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने, जङ्गली तथा घरेलु पशुपन्छीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने, फ्लु जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु र अण्डा राम्रोसँग पाकेको मात्र खाने स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् । सो भाइरसबाट बच्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले भाइरसको सङ््क्रमण हुन नदिन सचेतनामूलक सन्देश र कार्यक्रम सामाजिक विकास मन्त्रालयले गर्ने बताइएको छ ।

यसैगरी भाइरसको सङ्क्रमण परीक्षण गरी सङ्क्रमितहरुलाई आइसोलेटेड श्ययाहरुको व्यवस्थापन कोशी अस्पताल विराटनगर, मेची अस्पताल भद्रपुर, विपी कोइराला स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरान, बी एन्ड सी अस्पताल विर्तामोड, विराट मेडिकल कलेज शिक्षण अस्पताल विराटनगर, नोवेल मेडिकल कलेज टिचिङ अस्पताल विराटनगरमा सामाजिक विकास मन्त्रालयले गर्ने, आन्तरिक मामिला मन्त्रालयले प्रदेशका सबै जिल्लामा जिल्ला प्रशासन कार्यालयको अगुवाइमा सुरक्षा निकाय, स्वास्थ्यसँग सम्बन्धित सबै निकायसँग छलफल गरी सतर्कता अपनाउने कार्यलाई अघि बढाउने र यस प्रदेशको मित्रराष्ट्र चीनसँग सिमाना जोडिएका जिल्लाका केही स्थानमा चीनतर्फको नाका बन्द हुँदाका अवस्थामा हुन सक्ने खाद्यान्नलगायत अत्यावश्यक सामग्री अभाव हुन सक्ने कुरालाई दृष्टिगत गर्दै ताप्लेजुङ र सङ्खुवासभा जिल्लाका प्रजिअलाई सो सम्बन्धी विवरणसहित अन्य व्यवस्थापनको कार्य गर्न÷गराउन र सोको जानकारी मन्त्रालयमा पठाउन निर्णय पनि भएको जनाइएको छ ।

चिकित्सकले भाइरसको चेकजाँचका लागि प्रदेशमा प्रयोगशालाको स्थापना हुनुपर्ने, सङ्क्रमित रोगीको उपचारका लागि प्रदेशका जिल्ला अस्पतालमा संलग्न उपचार कक्षको व्यवस्था हुनुपर्ने, बिरामी लाग्नु अघि सचेतना अपनाउनुपर्ने तथा जनावरसँग सम्पर्कपछि राम्ररी हात धुनुपर्ने, माछा, मासु राम्ररी पकाएर खानुपर्ने, रुमाल तथा मास्कको प्रयोग गर्नुपर्ने जस्ता जुझाव दिएका थिए ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले रोगबाट हुने जनधनको क्षति रोक्न प्रदेश सरकार सचेत रहेको बताउँदै प्रदेशको उत्तरी सीमा क्षेत्रबाट यो रोग भित्रन नदिन क्रियाशील रहेको बताए । उनले सामाजिक मन्त्रालयको समन्वयमा प्रदेश र जिल्लाका अस्पतालमा रोग सम्बन्धमा जनचेतना जागृृत गराउने कार्य शुरु गरिएको जानकारी पनि दिए ।

कार्यक्रममा कोशी अस्पतालका निमित्त प्रमुख डा सङ्गीता मिश्र र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डा दिव्यराज प्रसाइँले यो भाइरसका बारेमा सविस्तार जानकारी दिएका थिए ।

तपाईको प्रतिक्रिया