चितवन । कोभिड-१९ को सङ्क्रमण देखिएर बिरामी राखिएको भरतपुर अस्पतालमा अन्य अत्यावश्यक सेवा बन्द नहुने जनाइएको छ ।
कोरोना सङ्क्रमण देखिएकालाई अस्पतालको एउटा भवनको भुइँ तलामा आवतजावत बन्द गराइए पनि अत्यावश्यक सेवा सुरक्षित तवरबाट सञ्चालन गरिएको छ ।

अस्पतालले जारी गरेको विज्ञप्तिमा सङ्क्रमण भएकालाई अस्पतालको ब्लक ए को भुइँतलामा आवतजावत बन्द गरी आवश्यक प्रविधि जडान गरेर स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाइएको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, “अन्य सेवालाई समेत प्रभावकारी बनाउन सेवाग्राहीलाई असर नपर्ने गरी व्यवस्थापन गरिएको छ ।”

अस्पतालको बि ब्लकमा प्रसूति सेवालगायतको नेपाल सरकारका प्राथमिकतामा रहेका सेवा रहेका छन् ।

प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीद्वारा जारी विज्ञप्तिमा ब्लक ए को माथिल्लो तलामा आकस्मिक शल्यक्रियाको व्यवस्था र अस्पतालको आकस्मिक सेवाका लागि आएका बिरामीको उपचार प्रक्रियालाई व्यवस्थित बनाइएको जनाइएको छ ।

विज्ञप्तिमा भनिएको छ, “सबै आकस्मिकमार्फत भर्ना भएका बिरामीका लागि यस अस्पतालका विभागहरु खुल्ला छन् र कोभिड–१९ को त्रासका कारण हतोत्साहित हुनु नपर्ने जानकारी गराउँदछौँ ।”

सङ्क्रमण देखिएका बिरामी राखिएको आइसोलेसन क्याबिनमा इन्टरनेट र सिसीटिभी मनिटरिङमा रहेको हुनाले अन्य कुनै पनि हाल प्रद्धत्त सेवा अवरुद्ध नहुने र निर्धक्क सेवा लिनसमेत आग्रह गरिएको छ ।

सो अस्पतालमा हाल कोभिड–१९ पुष्टि भएका जिल्लाकै राप्ती नगरपालिकाका दुईलाई राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

केन्द्रीयस्तरको यस अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । सामान्य समस्या भएमा अस्पतालका विज्ञ चिकित्सकसँग टेलिफोन संवादमार्फत सेवा लिन सकिने पनि विज्ञप्तिमा जनाइएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले पोजेटिभ देखिएका बिरामीसँग सम्बन्धित चिकित्सक, स्वास्थ्यकर्मीले पूर्ण सुरक्षित भएर उपचार एवं परामर्श दिने भएकाले उपचार गर्न आउने अन्य बिरामी डर मान्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

निःशुल्क र न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदै आएको सरकारी अस्पतालको सेवाबाट कोही पनि वञ्चित नहुन् भन्ने उद्देश्यले व्यवस्थापन गरिएको अधिकारीले जानकारी दिए ।

यसैबीच, भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष राजकुमार राजभण्डारीले भरतपुर अस्पताललाई आइतबार १०० थान एन९५ मास्क प्रदान गरेका छन् ।

उनले अस्पताल विकास समितिका अध्यक्ष अधिकारीको रोहबरमा मेडिकल सुपरिटेन्डेन्ट डा तिवारीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई उपचारमा सुरक्षित हुन सहयोग पुगोस् भन्ने उद्देश्यले आफूले सहयोग गरेको राजभण्डारीले बताए । यसअघि राजभण्डारी अध्यक्ष हुँदा अस्पताल विकासमा उनले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

तपाईको प्रतिक्रिया