अध्यक्ष ओलीले विधान मिच्नुभयो, एकलौटी ढंगबाट गरिएको निर्णय मान्न सकिँदैन: भिम रावल
काठमाडौँ । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षका नेता भिम रावलले पार्टी अध्यक्ष ओलीले विधान मिच्दै एकलौटि ढंगबाट गरिएको निर्णय मान्न नसकिने बताएका छन् । एमालेका वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायत नेताहरूको शुक्रबार साँझ बसेको बैठकले पार्टी अध्यक्षको निर्णय वैधानिक नभएको निष्कर्ष निकालेको नेता रावलले जानकारी दिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधान विपरीत पार्टी महाधिवेशनको मिति तोक्ने, प्रदेश इन्चार्जको चयन तथा केन्द्रीय कमिटीको विस्तार गरेको भन्दै यसरी विधान मिचेर गरिएको एकलौटी निर्णय मान्न नसकिने बताएका हुन् ।
रावलले अध्यक्षले नै विधान मिचेर गलत निर्णय गरेको भन्दै आपत्ति जनाए । सो समूहको बैठकपछि नेता रावलले भने “एकलौटी तवरले गरिएको निर्णय मान्न सकिँदैन । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा थप छलफल गर्छौँ ।” उता प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबारनै बसेको एमाले केपी शर्मा ओली पक्षका केन्द्रीय कमिटीको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारीसहित केही केन्द्रीय सदस्य थप गरेको थियो ।














