काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । अध्यक्ष केपी शर्मा ओलीले गरेको एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताउदै एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने निर्णय गरेको हो । सो समूहले अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठक अवैध भएको ठहर गरेको छ । उनिहरुले केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले ओली समूहको बैठक अवैध भएको ठहर समेत गरेको छ ।

उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको कथित बैठक एमालेको विधान, नियमावली र कार्यशैली विपरित भएको बताउदै त्यो आपत्तिजनक छ र अवैध रहेको जिकिर गरे । रावलले सर्वोच्च अदालतको फैसलाविपरित माओवादी केन्द्रमा रहेका नेताहरुलाई एमाले केन्द्रीय सदस्य मनोनित गरें भन्नु हास्यापद भएको बताए । उनले केन्द्रीय सदस्यमा थप सदस्य मनोनित गर्ने अधिकार ओलीसँग नभएको दाबी समेत गरे ।
सो बैठकले यहि चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला समेत आह्वान गरेको छ । सो भेलामा सहभागी हुन केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका सम्पूर्ण पदाधिकारीलाई समेत आग्रह गरिएको छ । सो भेलामा जनसंगठन, वर्गीय संगठन र पेशागत संगठनका केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, जिल्लाका अध्यक्ष, केन्द्रीय विभागका सदस्यहरुलाई पनि भेलामा बोलाइएको छ । रावलले सो भेलाबाट आफुहरुले महत्वपूर्ण निर्णय लिने समेत जानकारी दिए ।

तपाईको प्रतिक्रिया