काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल समूहले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटको गतिविधि सुरु गरेको बताउदै उनी कारबाहीको भागिदार हुने बताएका छन् । खनाल–नेपाल समूहले यहि चैत्र ४ र ५ गते गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन अर्थात आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले नै विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गर्ने गरेकोे भन्दै उनी कारबाहीको भागी हुनुपर्ने बताए ।
पाण्डेले अदालतले एमालेलाई ब्युँताइदिएपछि ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्नेमा अध्यक्ष ओलीले त्यसो नगरी त्यसभन्दा अन्य र फरक गतिविधि गर्नु पार्टीको विधान विपरीतको काम कारबाही भएको बताए । उनले ओलीले गरेको सबैकुरा स्वयं नै कारबाहीयोग्य भएको बताउदै आफैं गलत आधारमा खडा भएको अध्यक्षले अरुलाई कारबाही गर्छु भन्नु सुहाउने कुरा नभएको बताए ।
त्यसअघि अध्यक्ष ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको चियापान कार्यक्रममा पार्टीमा अचाक्ली भाँडभैलो बढेको भन्दै सो कुरा सह्य नहुने बताएका थिए । तर उता खनाल–नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार नहुने हामी चाहीँ भागिदार हुने भनी प्रति प्रश्न गरे । उनले पार्टी विधान विपरीत काम गर्ने अध्यक्ष पनि कारबाहीको भागी हुने हो कि होइन भन्ने प्रश्न गर्दैै अध्यक्षचाहिँ त्यसबाट मुक्त हुन्छ, अरु कारबाहीको भागी हुन्छन् भन्ने कुरा कुनै हालतमा हुन नसक्ने बताए ।
पार्टी विभाजनको गतिविधि ओलीले सुरु गरेको बतादै नेता पाण्डेले ओलीले पार्टी विभाजनको प्रारम्भ गरेको बताए । उनले ओलीले संसद विघटन गरिसकेपछि पनि त्यसबेला नेकपा एमालेको नयाँ कमिटी भनेर कमिटी बनाउन आरम्भ गरेको बताए । उनले ओलीको आइतबारको बैठकले पुराना काम कारबाही मान्य हुन्छ भन्नु विभाजनको प्रारम्भ भयो भन्न खोजे जस्तै भएको बताए ।
पत्रकार सम्मेलनमा नेपाल समूहका नेता तथा पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्ष ओलीले आफुखुशी गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन अस्वीकार गर्ने र पार्टीलाई विभाजनतिर लैजाने प्रयास गरेको आरोप समेत लगाए । उनले ओलीका गतिविधिविरुद्ध आफूहरु दृढतापूर्वक उभिएका बताउदै चैत्र ४ र ५ को राष्ट्रिय कार्यकर्ता भेलामार्फत आधारभूत तहसम्म सो सन्देश पु-याउन चाहेको बताए ।














