
अजित अधिकारी
चितवन । तत्कालीन प्रधानमन्त्री एवं ने. क. पा. एमालेका अध्यक्ष के.पी शर्मा ओलीले २०७७ सालको भानु जयन्तीको अबसर पारेर आफ्नो मन्तव्य दिने क्रममा बोल्दै गर्दा रामको जन्म भारतको नक्कली अयोध्यामा नभई नेपालको चितवन माडीमा अवस्थित अयोध्यापुरीमा भएको भनेपछि यो विषयले विश्वभरी चर्चा पायो ।
तत्कालीन समयमा छिमेकी राष्ट्र भारत र त्यहाँको मिडियाले नेपाली समाचारको खण्डन गर्दै असली अयोध्या भारतमा नै भएको दाबी गर्दै आएको छ । यतिमात्र नभई भारतले तत्कालीन प्रधानमन्त्री ओलीको खिसीट्युरी गर्दै निन्दा समेत गरेको थियो ।
यता धार्मिक ग्रन्थहरूको अध्ययनमा रुचि राख्ने काठमाण्डौं बुद्ध नगरमा स्थायी बसोबास गर्दै आएका यज्ञराज ज्ञवालीले आँफुले अध्ययन गर्दै आएका ती ग्रन्थहरूलाई सर्वसाधारण नेपालीहरूले बुझ्ने गरी सरल नेपाली भाषामा सरलीकरण गर्दै आएका छन् । उनले यो समाचार सुन्ने वित्तिकै यो अयोध्यापुरी तर्फ चासो बढाई यसको अध्ययन र अनुसन्धान तर्फ सकृय रहेको उनी बताउँछन् । उनले लेखेको सरलीकृत नेपाली रामायणमा उनले आफ्नो खोज अनुसन्धानमा आँफुले प्राप्त गरेका प्रमाणहरूलाई समेत उक्त रामायणमा समेट्दै सृष्टिको रचना कालदेखि रामायण कालिन समय सम्मको अवधिलाई प्रसङ्गमा जोड्दै निम्न शीर्षकहरू दिएर किताब तयार पारेका हुन् ।
सृष्टिको रचना, देवर्षि वाल्मीकि, रामायणका सन्दर्भमा, श्रीरामको जन्मभूमि अयोध्यापुरी, सूर्यवंशी शासकको उदय, रामावतार, मिथिला (जनकपुर), श्रवण कुमार, अहिल्याको श्राप मोचन, लङ्काधिपति रावण, सीताजीको विवाह प्रसङ्ग, देवर्षि नारदबाट विष्णुलाई श्राप, रामलाई वनवास र भरतलाई राज्याभिषेकको घोषणा, रामको वनवास यात्रा, चित्रकुट, जटायुसँग रामको भेट, पञ्चवटी आश्रम, श्रीरामले लक्ष्मणलाई दिएको तत्वज्ञान (राम गीताको सार), पञ्चवटीमा सुर्पणखाको आगमन, रावणद्वारा सीताजीको अपहरण, जटायुसँग श्रीरामजीको दोस्रो भेट, शवरी, किष्किन्धा नगरी, हनुमानको परिचय, बाली र सुग्रीवबिचको युद्ध, जाम्बवन्त, सम्पाति, तपस्विनी स्वयम्प्रभा, हनुमानको लङ्का गमन, विभीषण, सेतुवन्धको निर्माण, नल र नील, युवराज अङ्गद, कुवेर, मन्दोदरी, मेघनाद, लङ्कामा सीताको अवस्था, लङ्का युद्ध, राम लक्ष्मणको अपहरण, नवदुर्गा माताको पूजा आरम्भ, बिभीषणको राज्यारोहण, श्रीरामको अयोध्या आगमन, श्रीरामको राज्याभिषेक, श्रीराम लक्ष्मण र सीताको तीर्थयात्रा, श्रीरामद्वारा सीताजीको त्याग, श्रीरामको अश्वमेध यज्ञ, सीताको पाताल गमन, लवकुशलाई राज्य हस्तान्तरण, सुर्पणखाको बाँकी जीवन र आफ्नो बुझाइमा लागेका केही सारगर्भित कुराहरू जस्ता विषयसूची रहेका छन् । उनका यी शीर्षकहरु अन्तर्गत रामायणको बारेमा र अयोध्यापुरी नामक शीर्षकमा उनले अयोध्या सम्बन्धी अनुसन्धानका प्रमाणहरू समेटेका छन् ।
उनले लेखेको पुस्तकमा भारतले अहिले मान्दै आएको अयोध्या यति कारणले नक्कली रहेको र यति कारणले नेपालको चितवन माडीमा अवस्थित अयोध्यापुरी असली अयोध्या भएको भन्दै दुवै तर्फका प्रमाणलाई नै केलाएर स-प्रमाण उल्लेख गर्दै इतिहासको अध्ययन र खोजमा हाम्रो ध्यान नपुग्दा रामको जन्मभूमि भारतको फैजावादमा स्थित अयोध्यालाई नै राम जन्मभूमि मान्दै आउनाले नेपालको इतिहास नै चोरी भएको कुरा उनले स्विकार्दै आफ्नो लेखमा प्रष्ट पारेका छन् ।
उनी भन्छन्, मृग तृष्णाको कथामा जस्तो हाम्रै अयोध्यापुरीको क्षेत्रमा अध्ययनकै क्रममा निकुञ्ज भित्र छिरेर अध्ययन गर्दा जङ्गल भित्र शालिग्रामका शिला पाइनु, केही भग्नावशेषका अवशेषहरू पनि देखिनु, अलौकिक चित्रहरू कुदिएका शिलाहरू पाइनु, प्राचीन समयमा खनिएका ऐतिहासिक इनारहरू देखिनु आदि कारणले कतै हामी आफ्ना देशमा रहेको अस्तित्वको खोजी नै नगरी कागले कान लग्यो भन्ने हल्लाको भरमा आफ्नो कानै नछामी उडिरहेको कौवाको पछि लाग्दै दौडीरहेका छौं भन्ने उनको यो भनाइलाई यो रामायणले पनि पुष्टि गरिदिएको छ ।
उनको यो रामायण लेखन कार्य गर्नु अगावै उनले प्रकाशन गरेका धार्मिक किताबहरूमा बजार मूल्य दुई लाख भन्दा बढीका किताबहरू समेत यही माडीस्थित राम मन्दिरको नाममा अनुदान स्वरूप प्रदान पनि गरेका छन् । जसको कारण यि किताबहरूको अध्ययन गर्ने अवसर पाएपछि माडी बासीहरूपनि यस सम्बन्धमा बिस्वस्थ हुन पुगेका छन् यि किताबहरूमा “देव दर्शन, हाम्रो धार्मिक आस्था र प्रति विम्व नामक तीन किताब रहेका छन् । धर्म ग्रन्थको अध्ययनमा रुचि राख्ने ज्ञवालीले उनको भनाइमा महाभारत ग्रन्थको अध्ययन गरी सरलीकृत नेपाली महाभारतको मस्यौदा तयार गरी सकेको र अठार पुराणमा आधारित रहेर त्यसको मुख्य सार निकाली एक किताबमा समेटी प्रकाशन गर्ने लक्षका साथ हाल अध्ययनमा सरिक रहेको भन्दै संभव भएसम्म आगामी वर्ष भित्रै यि दुई किताब पनि एक साथमा विमोचन गराउने लक्ष रहेको उनी बताउँछन् ।
उनको यो पौराणिक ग्रन्थलाई अध्ययनगर्दै सरल नेपाली भाषामा सरलीकरण गर्दै नेपाली समाजमा छोड्ने उनको यो अभियानलाई हामीहरूले पनि मुक्त कण्ठले उनको प्रशंसा गर्नै पर्छ । उनको यो लेख तथा विधाले सधैं निरन्तरता पाइरहोस् हाम्रो तर्फबाट शुभकामना छ ।