अजित अधिकारी
चितवन । बिक्रम बाबाको मन्दिर गर्दीको उत्तर पूर्व सिमानामा पर्ने चितवन राष्ट्रिय निकुञ्ज भित्र बिक्रम बाबाको मन्दिर रहेको छ । बिक्रम बाबाको बारे प्रश्न गर्दा, यहाँका आदिवासी थारुहरुले तीनै लोकका ठकुराइन (मालिक) भएकाले र सबै कुराहरु दिन सक्ने वा गर्न सक्ने पराक्रमी देवता भएकोले बिक्रम बाबा भनिएको भनाइ छ ।

बिक्रम बाबाको पुजा एक शताब्दी भन्दा पहिल्यैदेखि चलिआएको बुझिन्छ । चि.रा.नि. भित्र कसरा दरवार नजिकै बिक्रम बाबाको स्थान रहेको छ । यहाँका आदिवासीहरु थारु तथा बोटे जातिहरुको बाबाप्रति निकै ठूलो श्रद्धा र बिश्वास रहेको छ ।

अहिले सम्पुर्ण देशबासीको अपार श्रद्धा रहेको छ । पहिले पहिले प्राय: यिनै पहाडी मुलका बाहुन, क्षेत्री, गुरुङ्ग, मगर आदि सबै जात जातिका मानिसहरु बिक्रम बाबाको पुजा आजा गर्नको लागि जाँदैनथे ।

हालमा सबै जातजातिको आस्थाको केन्द्रको रूपमा बिक्रमबाबालाई लिइन्छ । भने पुजा अर्चनाका लागि चितवन र वरपरका जिल्लाबाट जाने गर्दछन् ।

यहाँ सात्विकी पुजा गर्नेहरु भन्दा बलि पुजा गर्नेको संख्या बढी हुने गरेको पाइन्छ । बिक्रम बाबाको पुजा हरेक बर्ष चैत्र शुक्ल पक्षको प्रतिपदाबाट आरम्भ गरिन्छ । अरु समयमा भाकल गर्नेहरुले यसै बेला पुजा गर्दछन् ।

यहाँको प्रसाद घरमा लगेर खान नहुने बताइन्छ । भने अरु सबै मागे दिने तर श्रीमती माग्न नहुने जनबिश्वास छ । बिक्रम बाबाको पुजा गरेपछि सन्तान नहुनेलाई सन्तान हुने, भाकलले जन्मेका सन्तानको मुण्डन (क्षाैर कर्म) संस्कार बिक्रम बाबाको नजिकै गर्नुपर्ने बताउछन् । भने भाकलबाट छोरा भए बिक्रम र छोरी भए बिक्रमीया नामाकरण गर्ने गरेको यहाँका बृद्धबृदा बताउँछन् ।

बिक्रमबाबाको दर्शन गर्न जाँदा पालना गर्नुपर्ने नियमहरु धेरै छन् । जस्तै महिलाहरुले कपाल बाँध्न नहुने । सबै दर्शनार्थीहरुले जुत्ताचप्पल लगाएर जान नहुने । यस्तै विभिन्न प्रकारका नियमहरु रहेका छन् । केही बर्षयता चैत शुक्ल पक्षको प्रतिपदादेखि बिक्रम बाबाको मेला पुजा भर्न यस क्षेत्रका मात्र नभई देश तथा बिदेशबाट पनि मानिसहरुको भिड क्रमश: बढ्ने गरेको देखिन्छ । बर्तमान समय र पहिला पनि बिक्रम बाबाको पुजा मौलोमा गर्ने गरिन्छ ।

स्रोत : युवा पं. सुदर्शन सुबेदीद्वारा लेखिएको संक्षिप्त माडी परिचयबाट

तपाईको प्रतिक्रिया