काठमाडौं । अख्तियारका प्रमुख आयुक्त सहित संवैधानिक आयोगका पदाधिकारीको शपथ ग्रहण कार्यक्रम आज रहेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार संवैधानिक परिषदको बैठकले गत मंसिर ३० गते सिफारिस गरेका विभिन्न संवैधानिक आयोगका पदाधिकारीकोे आज (बुधबार) राष्ट्रपतिले शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदको सिफारिस अनुसार विभिन्न आयोगका पदाधिकारीलाई आज नियुक्तीसंगै गर्दै शपथ ग्रहण पनि गराउने कार्यक्रम रहेको छ ।

कानुन अनुसार संवैधानिक आयोगका पदाधिकारीका लागि सिफारिस व्यक्तिहरुको संसदीय सुनुवाईमा परीक्षण हुनुपर्ने लेखिएको भएपनि हाल प्रतिनिधिसभा विघटनपछि उनीहरुको सुनुवाई भने हुन सकेको थिएन । सोहि कुरालाई मध्यनजर गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सुनुवाई गर्न नसकिने भन्दै संवैधानिक परिषदको सिफारिसलाई आइतबारनै फिर्ता पठाएका थिए । तर उता राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाले भने सभामुख सापकोटाले उक्त सिफारिस फिर्ता पठाएको कुरामा आपत्ति प्रकट गरेका थिए ।

गत मंसिर ३० गतेको संवैधानिक परिषद बैठक सभामुख सापकोटाले बहिस्कार गरेपछि सरकारले सोही दिन अध्यादेश जारी गर्दै बेलुका फेरि परिषद्को बैठक बसी पदाधिकारीहरुको सिफारिस गरेको थियो । उक्त दिनको संवैधानिक परिषद बैठकले अख्तियार दुरुपयोग आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्द तथा किशोर सिलवालको नाम सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया