काठमाडौँ । काठमाडौंमा बन्द गराउँदै हिडेको भन्दै प्रचण्ड–माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्य सहित नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । आज (बिहिवार) नेकपा प्रचण्ड–माधव पक्षले नेपाल बन्दको आह्वान गरेको छ । जसलाई मध्यनजर गर्दै प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ । सोहि क्रममा प्रचण्ड–माधव समुहले कलंकी क्षेत्रको कमान्डर तोकिएकी नेतृ शाक्यलाई प्रहरीले कलंकी क्षेत्रबाटनै पक्राउ गरेको हो । नेतृ शाक्यसंगै प्रहरीले कलंकी क्षेत्रबाटनै अन्य ८ जनालाई पनि पक्राउ गरेको छ ।
प्रहरीका दिएको जानकारी अनुसार हालसम्म बन्द गराउँदै हिँडेका सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेका छन् । प्रहरीले बन्दकर्ताले बिहानै गोंगबुमा एउटा ट्याक्सीमा आगजनी गरेको र बिभिन्न स्थानमा सवारी साधनमा तोडफोड गरेको बताएको छ ।
बुधवारको पत्रकार सम्मेलनमा नेकपा (प्रचण्ड–माधव) समूहले बन्द सफल बनाउन उपत्यकाका बिभिन्न ११ स्थानमा स्थायी कमिटी सदस्यको नेतृत्वमा कार्यकर्ता परिचालन गर्ने बताएको थियो ।














