काठमाडौं । सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषी कट्टेललाई दिएछि सबैभन्दा बढि अप्ठेरोमा परेका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल समूहले अब अलग भएर जाने निर्णय गरेका छन् । तीन वर्षअघि नेकपा एमाले र माओवादी केन्द्र एकता भएर नेपाल कम्युसनिस्ट पार्टी (नेकपा) बनेको भएपनि अदालतले पुनः सोहि पार्टीलाई ब्यूँताइदिएपछि अलमलमा परेका प्रचण्ड–माधव समूहले सोमबार बेलुका पेरिसडाँडामा बैठक बसी अलग भएर जाने निर्णय गरेका हुन् ।
विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको भएपनि बैठक निर्धारित समयमा बस्न नसकेपछि तोकिएको समय भन्दा झण्डै चार घण्टा ढिलो मात्र पेरिसडाडाँमा बैठक शुरु भएको थियो । अनौपचारिक बैठक भनिएपनि सो बैठक साँझ अवेरसम्म नै चलेको थियो । पेरिसडाँडामा चलेको बैठकबाट एकपछि अर्का नेता बैठक बाहिरिए पनि कसैले भित्रको निर्णयबारे बताएका थिएनन् । दुई पार्टी एकता भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको ३३ महिनापछि सर्वोेच्च अदालतले पुनः नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । अझ मुख्य कुरा त संसद विघटनविरुद्ध नेकपा विभाजित भएर ओली र प्रचण्ड–माधव समूहका रुपमा संघर्ष भइरहेको बेलामा । सर्वोच्चको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र त व्यूँतियो, तर माधव नेपाल समूहले के गर्ला भन्ने चासो भने सबैको मनमा रहेको थियो ।
पेरिसडाँडाको सो बैठकमा दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल सहित शीर्ष नेताहरुले अलग भएर जाने बताइसकेका भएपनि बैठकको शुरुमै बोलेका प्रचण्डले भने प्रष्ट भाषामा एमाले र माओवादी अलग हुने कुरा भने बताएनन् । बरु उनले अदालतको फैसला मानेर आ–आफ्नो बाटो तर्फ लाग्नुपर्ने संकेत भने गरेका थिए । प्रचण्डले फैसलाले नयाँ स्थिति आएको बताउदै सो फैसला राजनीतिक भएको र आफ्नो सहमति नभएको जिकिर गरेका थिए । प्रचण्ड–माधव समूहका एक नेताले अदालतको फैसला अस्वीकार गर्छौ भन्न नमिल्ने बताउदै त्यसलाई मानेर जानुको बिकल्प पनि आफुहरुसँग नभएको जिकिर गरे । फरक ढंगले जानुपर्ने स्थिति आएको र जुन अदालतलको कारणले भएको उनको भनाई थियो ।
अर्का अध्यक्ष माधवकुमार नेपालले पनि प्रचण्डकै जस्तो शैलीमा आफ्नो धारणा ब्यक्त गरेका थिए । नेपालले अदालतको फैसलालाई सम्मान गर्नैपर्छ भन्दै जे–जे आइलाग्छ, सम्हाल्दै फेरि एकता गर्नुपर्ने धारणा ब्यक्त गरे । उनले कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन र वाम आन्दोलनलाई टुक्रिन नदिन प्रयास भने कायमै राख्नुपर्ने धारणा ब्यक्त गरे ।
मुख्य नेतापछि बोलेका अन्य नेताहरुले पनि अलग हुने परिस्थिति अदालतले बनाइदिएको बताएका थिए । बैठकमा सहभागि एक नेताका अनुसार भविश्यमा पनि कुराकानी गरौं र एकताको प्रक्रियालाई जारी राखौं भन्दै लामो समय चलेको अनौपचारिक बैठकबाट उठेको बताए । शीर्ष नेताहरुले शुरुमै बोलेकाले त्यसपछि स्थायी कमिटी नेताहरुले आफ्नो कुरा राख्दै बाहिरिने गरेको ति नेताले बताए ।
ता नेता नारायणकाजी श्रेष्ठ प्रकाशले भने सोमबारको बैठक नेकपाको सम्भवतः अन्तिम बैठक हुनसक्ने बताएका थिए । बैठकमा सहभागी नेताहरुका अनुसार प्रचण्ड र माधव नेपालबीच अदालतको फैसला अनुसार एमाले एमालेमानै र माओवादी माओवादीमै रहने सहमति जुटेको थियो । सोहि कुरा सबै नेताहरुलाई बुझाउन र सबैको समान धारणा बनाउन सो समूहका दुवै नेताले आफू निकटका स्थायी कमिटी सदस्यहरुसँग सो बैठकमा छलफल गरेको बताइएको छ ।














