चितवन । मुद्दा मिलाई दिन्छु भनि रकम ठगि गर्ने दिलिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । गत श्रावण ६ गते मोवाईल चोरी मुद्दामा जिल्ला प्रहरी कार्यालय चितवनबाट पक्राउ परेका रौतहट गरूडा न.पा.वडा नं. ५ बस्ने बर्ष २८ का रुप नारायण साह सोनारलाई प्रहरीले चितवन जिल्ला अदालतबाट म्याद थप अनुमती लिएर चोरी मुद्दामा अनुसन्धानको सिलसिलामा थुनामा रहेको अवस्थामा उनलाई तत्काल प्रहरी कार्यालयबाट छुटाई दिन्छु भनि रकम ठगी गर्ने गोरखा सिरानचोक गाउँपालिका वडा नं.४ बस्ने दिलिप श्रेष्ठ पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार श्रेष्ठले रुप नारायण साह सोनारको भाई सुखारी साहसंग कुराकानी गरी मुद्दा मिलाई दिन्छु भनि गत श्रावण १९ गतेका दिन आइएमई मार्फत नगद रु. २०,०००/– (बिस हजार) लिएको र सो नगद लिए पश्चात श्रेष्ठ सम्पर्क बिहिन भएका थिए ।

श्रावण ३० गते रुप नारायण साह सोनार चितवन जिल्ला अदालतको आदेशले नगद रु. ३०,०००/– (तिस हजार) धरौटी राखी तारिखमा छुटे पश्चात उनका भाई सुखारी साहले आफु ठगिएको कुरा थाहा पाई श्रेष्ठ बिरुद्धमा प्रहरीमा ठगी सम्बन्धी कसुरमा मंगलबार किटानी जाहेरी दरखास्त दिए पछि श्रेष्ठ पक्राउ परेका हुन् ।
पक्राउ परेका श्रेष्ठलाई मंगलबारनै चितवन जिल्ला अदालत समक्ष पेश गरिएकोमा सम्मानित अदालतबाट दिन ७ (सात) म्याद थप प्राप्त भई हिरासतमा राखि ठगी सम्बन्धि कसूरमा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया