
रत्ननगर । रत्ननगर नगरपालिकालाई पूर्ण खोप नगर सुनिश्चिता तथा दिगोपना घोषणा गरिएको छ । पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गर्दै जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्य सचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले रत्ननगरलाई पूर्ण खोप दिगोपना सुनिश्चिताको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा १६ वटै वडालाई पूर्ण खोप वडाको प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रमाणपत्र ग्रहण गर्दै नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगरलाई पूर्ण खोप घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै पूर्ण खोपलाई दिगोपन दिनु मह¤वपूर्ण विषय भएको बताए । उनले पूर्ण खोप अभियानलाई निरन्तरता दिन नगरपालिकाले कुनै कसर बाँकी नराख्ने उल्लेख गरे । कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेसु डा. मदन ज्ञवालीले वडामा खोप लगाउन छुटेका बालबालिकालाई बकुलहर रत्ननगर अस्पतालमा सोमबार र मंगलबार खोप लगाउने व्यवस्था गरिएको बताए । कार्यक्रमका प्रमुखअतिथि जिल्ला समन्वय समितिका प्रमुख नारायणप्रसाद अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चिता घोषणा गराउन मह¤वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे ।
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले नेपालको संविधान २०७२ ले पूर्ण खोप पाउने ग्यारेन्टी गरेको र संविधिानप्रदत्त हक बमोजिम १५ महिनाभित्रका बालबालिकालाई १३ प्रकारका खोप लगाइँदै आएको बताए । उनले पूर्ण खोप दिगोपना सुनिश्चितताका लागि सबै जिम्मेवार भएर लाग्नुपर्ने बताए ।
नगरउपप्रमुख यादवप्रसाद पाठकले पूर्ण खोप पालिका घोषणा हुनु सबैभन्दा ठूलो उपलब्धि भएको बताउँदै अर्को वर्ष पनि दिगोपनाको लागि काम गर्न आग्रह गरे । उनले कुनै पनि बालबालिका पूर्ण खोपबाट छुट्न नहुने र छुटेका हकमा पनि खोपको ग्यारेन्टी गर्न सबै स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे । यस्तै, सामाजिक विकास समितिका संयोजक एवम् रत्ननगर–५ का वडाध्यक्ष बालकृष्ण चापागाईंले पूर्ण खोप कार्यक्रमको दिगोपनालाई अगाडि बढाउन सबै सरोकारवाला लागिपर्ने प्रतिबद्धता जनाए
। स्वास्थ्य शाखाका सहसंयोजक वासुदेव सापकोटाले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पौडेलले कुनै पनि बालबालिका पूर्ण खोपबाट वन्चित नहुने गरी सबै वडामा खोप सुनिश्चितता गरिएको र बाहिरी जिल्लाबाट बसाइँसराइ गरी आएका कारणले कुनै बालबालिका खोप लगाउन छुटेमा ‘खोज र खोप’ अभियानमार्फत खोपको सुनिश्चिता गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका प्रमुख डा. कोपिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, १६ वटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि, कार्यपालिका सदस्य, वडा सचिवहरु, स्वास्थ्यकर्मी तथा सामुदायिक महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।