चितवन, भदौ २ गते — विद्युत व्यवसायी संघ-चितवनको आयोजनामा आज हरितालिका तीजको पावन अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। संघका अध्यक्ष विष्णु प्रसाद चालिसे को अध्यक्षतामा भरतपुर–४ स्थित चितवन फुड मार्ट पार्टी प्यालेसको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा संघका संस्थापक अध्यक्ष बामदेव शर्मा (घिमिरे) प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नवराज सुवेदी, पूर्व अध्यक्ष एवं सल्लाहकारहरू, कार्यसमिति सदस्यहरू, विद्युत व्यवसायी महिला समूहकी अध्यक्ष रिता देवी सुवेदी, संघका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको संयोजन संघका तृतीय उपाध्यक्ष खगराज अधिकारीले गर्नुभएको थियो भने सञ्चालन सचिव नारायण वंशीले गर्नुभएको थियो। उक्त अवसरमा सहभागी दिदीबहिनीहरूले तीज गीतमा नाचगान तथा दर खाएर पर्वको उल्लासपूर्वक गरेका थिए।
उपस्थित सबैले एक आपसमा तीजको शुभकामना आदान–प्रदान गर्दै नेपाली नारीहरूको संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिएका थिए। विद्युत व्यवसायी संघ–चितवनले हरेक वर्ष जस्तै यस वर्ष पनि तीजलाई भव्यता दिने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको हो।














