कालिका । महिलाहरूको महान् पर्व तीजको अवसरमा कालिका–१ स्थित चतुर्मुखी सामुदायिक वन उपभोक्ता समूहले आइतबार तीज विशेष गीत प्रतियोगिता सम्पन्न गरेको छ ।संस्थाका अध्यक्ष हरिकुमार गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुखअतिथि कालिका नगरपालिकाकी उपप्रमुख विमला तामाङले तीज पर्वले नेपाली समाज र संस्कृतिलाई जोड्न र आफन्तजनलाई भावनात्मक सम्बन्ध कायम गर्न मद्दत पुग्ने बताइन् ।
यस्तै, महिला सशक्तीकरण, अधिकार र सामाजिक न्यायका निम्ति महत्वपूर्ण भूमिका खेल्ने भएकाले संस्कृतिका नाममा बढिरहेको विकृतिलाई पनि निरुत्साहित गर्नुपर्नेमा जोड दिइन् ।कार्यक्रममा विशिष्टअतिथिहरु कालिका–१ का वडाध्यक्ष सन्तवीर स्याङ्तान र पदमपुर सबडिभिजन वन कार्यालयका बालकृष्ण खनाल, सामुदायिक वन महासंघ वन उपभोक्ता समूहकी अध्यक्ष विष्णुकुमारी सापकोटा लालीगुरास टोल विकास संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरे, संस्थाका पूर्वअध्यक्ष सरोज गुरूङलगायतले मन्तव्य राखेका थिए ।
वन, वन्यजन्तु तथा वातावरण संरक्षणको सन्देशसहित आयोजना गरिएको प्रतियोगितामा गडुवा टोल विकास संस्थाले प्रथम स्थान हासिल गर्दै नगद १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै, लालीगुराँस टोल द्वितीय भई ७ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र र सगरमाथा टोल विकास संस्था तृतीय भई ५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।
सान्त्वनातर्फ सिन्धुपाल्चोक टोल विकास संस्था र कामना टोल विकास संस्थाले जनही एक÷एक हजार रुपैयाँ नगद र प्रमाणपत्रसहित पुरस्कृत भए । प्रतियोगिताको निर्णायकमा गायक दशरथ सापकोटा र गायिका जुना डल्लाकोटी रहेका थिए । कार्यक्रम सञ्चालन कार्यालय सचिव बुद्धि बमजनले गरेका थिए ।














