रत्ननगर । चितवनको ऐतिहासिक किल्ला उपरदाङगढीमा टेकमाइण्ड नेटवर्कले निःशुल्क (फ्रि) वाइफाई सेवा उपलब्ध गराएको छ । गढी अबलोकनका लागि पुग्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी फ्रि वाइफाई सेवा उपलब्ध गराएको सो कम्पनीका पूर्वी चितवन प्रमुख यमन भूषालले बताए । विहीबार गढीमा आयोजित एक औपचारिक कार्यक्रममा इच्छाकामना गाउँपालिका वडा नं ७ का वडाध्यक्ष बमबहादुर थापामगरले (फ्रि) वाइफाई सेवाको उद्घाटन गर्नुभएको हो ।

सो अबसरमा वडाध्यक्ष रानामगरले लामो इतिहास बोकेको उपरदाङगढी प्रचारप्रसारको अभावका कारण ओझेलमा रहेको भन्दै (फ्रि) वाइफाई सेवाले गढीको प्रचारप्रसारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल उपरदाङगढीमा निःशुल्क वाइफाई सेवा सुरु गरेको भूषालले बताए । २०५८ सालमा चितवनको भरतपुरमा स्थापना भएको टेकमाइण्ड नेटवर्कले इन्टरनेट सेवा प्रदायक कम्पनी रुपमा गुणस्तरीय फाइबर इन्टरनेट सेवा ७० वटा जिल्लाका १ लाख ५० हजार घरमा सेवा दिँदै आएको छ । इन्टरनेट मार्फत स्थानीय पर्यटन, शिक्षा र सूचना पहुँचमा योगदान गर्ने लक्ष्य रहेको भन्दै भूषालले उपरदाङगढीमा आगन्तुक, पर्यटक, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूले निःशुल्क इन्टरनेट सेवा उपभोग गर्न पाउने बताए ।

तपाईको प्रतिक्रिया