रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा यही मंसिर २५,२६ र २७ गते तेस्रो मेयर कप तथा पाँचौ राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता हुनेभएको छ । रत्ननगर नगरपालिकाको संरक्षकत्वमा पूर्वी चितवन स्पोटर्स क्लवको आयोजनामा रत्ननगर वडा नं ३ बेल्सी स्थित पूर्वी चितवन कवर्डहलमा प्रतियोगिता हुने भएको हो। आयोजकले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारी र उद्देश्यका बारेमा जानकारी दिएको छ ।
प्रतियोगिता अन्तर्गत छ वटा विधामा खेल हुने कार्यक्रम संयोजक केबल न्यौपानेले जानकारी दिए । पुरुष डवल खुल्ला ए लेबल, पुरुष डबल खुल्ला वी लेभल, भेट्रान ४५ उमेर समुह माथि, सुपर भेट्रान ५५ उमेर माथि, महिला डवल खुल्ला र जनप्रतिनिधि बीच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष सुरज न्यौपानेले जानकारी दिन। पुरुष खुल्ला ए लेभलमा प्रथम हुनेलाई ८१ हजार १११, द्धितीय हुनेलाई ४१ हजार १११ र तृतीय हुनेलाई २१ हजार १११, पुरुष खुल्ला वी लेभलमा प्रथम हुनेलाई ४१ हजार १११, द्धितीय हुनेलाई २१ हजार १११ र तृतीय हुनेलाई ११ हजार १११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमापत्र प्रदान गरिने प्रतियोगिताका सहसंयोजक सौगात भूजेलले जानकारी दिए ।
त्यसैगरी भेट्रान ४५ बर्ष माथिमा प्रथा हुनेलाई ४१ हजार १११, द्धितीय हुनेलाई २१ हजार १११ र तृतीय हुनेलाई ११ हजार १११, भेट्रान ५५ बर्ष माथिमा ३१ हजार १११, द्धितीय हुनेलाई २१ हजार १११ र तृतीय हुनेलाई ११ हजार १११, महिला खुल्लामा ३१ हजार १११, द्धितीय हुनेलाई २१ हजार १११ र तृतीय हुनेलाई ११ हजार १११ र जनप्रतिनिधिमा ३१ हजार १११, द्धितीय हुनेलाई २१ हजार १११ र तृतीय हुनेलाई ११ हजार १११ नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्वलका सचिव महेश पाण्डेले जानकारी दिए ।
खेलकुलको माध्यमबाट पर्यटन विकास, नगरको खेलकुदको विकास तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक न्यौपानेले बताए । प्रतियोगितामा भाग लिन जिल्ला बाहिरबाट आउने खेलाडीलाई सौराहाका होटलहरुमा आवास र खानाको व्यवस्था मिलाइएको छ । सौराहाका व्यवसायी समेत रहेका आवास व्यवस्थापन समितिका संयोजक अन्जन पाण्डेले खेलाडीहरुलाई सौराहामा नि:शुल्क रुपमा आवास र खानाको व्यवस्था मिलाइएको जानकारी दिए ।














