काठमाडौँ- आठ जना भारतीय पर्यटकको निसास्सिएर मृत्यु भएको एभरेष्ट पानोरमा रिसोर्ट निलम्बनमा परेको छ ।
मकवानपुर थाहा नगरपालिका वडा नम्बर ४ सिमभन्ज्याङमा रहेको उक्त रिसोर्ट नेपाल सरकार सचिवस्तरबाट २६ माघमा निर्णय गरी निलम्बन गरिएको हो ।
गत ६ माघमा साँझ दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा बास बसेका ८ भारतीय पर्यटक निसास्सिएर मृत्यु भएको घटनालाई लिएर पर्यटन ऐन, २०३५ को दफा १५ को उपदफा २ बमोजिम रिसोर्ट निलम्बन गरिएको हो ।
पर्यटकको मृत्यु भएलगत्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाको संयोजकत्वमा छानबिन गर्न समिति गठन गरी घटनाको अनुसन्धान गराएका थिए ।
अबको तीन महिनापछि रिसोर्ट संचालन प्रक्रिया पुगेपछिमात्र संचालन गर्न मिल्ने निलम्बन पत्रमा उल्लेख गरिएको छ ।
होटल वर्गीकरण तथा मापदण्डसम्बन्धी सरकारले २०७६ पौष ७ गते प्रकाशित सूचना अनुसरण तथा प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षण (वातावरण प्रभाव मूल्याङ्कन) सम्पन्न गराई अनुमति लिएरमात्र रिसोर्ट संचालन गर्न सकिने पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया