
रत्ननगर, बैशाख ४ । चितवनमा जारी ३०औँ वन्यजन्तु सप्ताहअन्तर्गत बिहीवार रत्ननगरको सौराहा स्थित बूढीराप्ती नदी क्षेत्र सरसफाइ गरिएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा नदीको चित्रसारी पुलदेखि डुङ्गाघाटसम्म सरसफाइ गरिएको हो ।
नदी सफा गरेपछि बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भूवनेश्वर चौधरी (विपी) ले नदीमा मानवीय चाप घटाउनुपर्ने बताए । वातावरण र प्रकृति संरक्षण हामी सबैको दायित्व हो भन्दै उनले नदी प्रदूषण रोक्न एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुष्पराज श्रेष्ठले निकुञ्ज आसपासका नदीमा मानव बस्ती वृद्धिका कारण जलचर सङ्कटमा परेका बताए ।
मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले संरक्षणका दृष्टिले महत्वपूर्ण मानिएको वन्यजन्तु सप्ताहमा सरोकारवालाको उल्लेख्य सहभागिता नहुनु दुःखद भएको बताए ।
यसैगरी, वन्यजन्तु सप्ताहअन्तर्गत चित्रसेन र बाघमारा वनको सिमाना हुँदै बग्ने बुढीराप्ती खोलामा डुङ्गा सयर गरिएकोछ ।
बैशाख ५ गते सौराहा सेक्टरअन्तर्गत विद्यालयस्तरीय चित्रकला र वक्तृत्वकला प्रतियोगिता, ६ गते वन्यजन्तु र वातावरण संरक्षणमूलक सचेतना र्य ली तथा सप्ताहको अन्तिम दिन वैशाख ७ गते ‘वन, वन्यजन्तु तथा जैविक विविधता संरक्षणमा सम्भावना र चुनौती’ विषयक अन्तरक्रिया र संरक्षणमा योगदान दिनेहरूलाई विभिन्न विधामा सम्मान गरिने अध्यक्ष घिमिरेले बताए ।
मृगकुञ्जको अगुवाइमा जारी वन्यजन्तु सप्ताहमा स्थानीय सरकार, राष्ट्रिय प्रकृति संरक्षण कोष सहित सामुदायिक वन, सौराहाको पर्यटनसँग सम्बन्धित सङ्घसंस्था गरी २६ वटा सङ्घसंस्था संलग्न छन् ।