चितवन । बैशाख ३० गते हुने स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले आज राति १२ बजेबाट मौन अवधि सुरु हुने जनाएको छ । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन आयोगले निर्देशन दिएको छ ।

आयोगले निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आग्रह गरेको छ । सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन भनेको छ । आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन निर्देशन दिएको छ । वैशाख ३० गते मतदानका दिन यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरि सकेको छ । आयोगका अनुसार एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सो दिनमा सञ्चालनमा रहनेछन् ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?

–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा,सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

–निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

–मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने

–एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने

तपाईको प्रतिक्रिया