madi bijuli
देब अन्जान शाह, ३० बैशाख, माडी
करीब डेढ बर्षको पर्खाइपछि माडीको बसन्तपुरस्थित सबस्टेशनमा गएरातीदेखि पुनः बिजुली बलेको देखिएको छ । यसअघि गत २०७१ साल माघ ४ गते चनौली जगतपुर माडी ३३ के.भी. सब ट्रान्समिसन लाइन चार्ज भई बसन्तपुर सबस्टेशनमा बत्तीहरु बलेका थिए ।
माडीमा बिजुली बिस्तारको दबाब दिन गतहप्ता माडीको उच्चस्तरीय प्रतिनिधी मण्डल नेपाल बिध्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा पुगी तत्काल बिजुली नबाले माडीबासीका तर्फबाट आमरण अनसन लगायतका विविध दबाबमुलक कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको थियो । माडीका पूर्वसांसद तीर्थराज भुसाल, बहालवाला साँसद धनिराम (डि.आर.) पौडेल, युवा नेता सन्देश पौडेल लगायतका व्यक्तित्वहरु सम्मिलित सो प्रतिनिधी मण्डलले तत्काल बिजुली बाल्न र बिध्युत परियोजनाका कारण पीडित बनेकाहरुको मनासिव माग पुरा गरी सुरक्षाका उपायहरु व्यवस्थापन गर्न दवाव दिएको हो । त्यसको प्रतिक्रिया र प्रभावस्वरुप प्राधिकरण पक्षले बैशाख महिनाभित्रै चनौली जगतपुर माडी ३३ के.भी. सब ट्रान्समिसन लाइन अन्तरगत देखिएका सम्पूर्ण प्राबिधिक समस्याहरु पहिचान एवं समाधान गरी सबस्टेशन चार्ज गर्नुका साथै ११ केभीको प्रसारण लाइन समेत चार्ज गर्दै बजारक्षेत्रमा बिजुली प्रवाह सुरुवात गर्ने जनाएको थियो । माडीका अर्का साँसद बिक्रम पाण्डेका तर्फबाट उहाँका स्वकीय सचिव राजु भण्डारीले समेत प्राधिकरणमा दवाव दिइरहनुभएको थियो ।
यसअघि कहिले चितवन राष्ट्रिय निकुञ्जमा केबुल लाइन जलेको, कहिले अर्थिङ बिग्रिएको, कहिले सबस्टेसनको सुरक्षा संयन्त्र चार्ज नभएको त कहिले बाँस र केराको पातका कारण केबुल चार्ज हुन नसकेको भन्दै नेपाल बिध्युत प्राधिकरणले चनौली जगतपुर माडी ३३ के.भी. सब ट्रान्समिसन लाइन चार्ज गरेको थिएन । यसपटक सबस्टेशन चार्ज गरिएको भएपनि त्यसको निरन्तरता र ग्रामिण बिध्युतिकरणको कार्यान्वयनका लागि प्राधिकरण र परियोजनालाई माडीबासीको निरन्तर दबाबको खाँचो परिरहनेमा कुनै शंका छैन ।
यसैबिच, बिजुली बल्न लागेसंगै नेपाल बिध्युत प्राधिकरण पीडित परिवार संघर्ष समितिले समेत आफ्नो सक्रियता बढाउने सम्भावना रहेको छ । यसअघि पीडित परिवारको बिरोधका कारण बिध्युतिकरण परियोजना अगाडि बढ्न अवरोध भएको थियो । त्यसबेला, सामुदायिक रेडियो माडीको आयोजनामा बसन्तपुरमा २०७१ माघ ३ गते आयोजित चनौली जगतपुर माडी ३३ के.भी. सब ट्रान्समिसन लाइन सञ्चालन तथा शीघ्र बिध्युतिकरण हेतु सरोकारवालाहरुसंगको अन्तरसम्वाद कार्यक्रमबाट विविध सहमती कायम भई भोलिपल्ट ४ गते विहान ९ः५७ बजे माडीमा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनको बिजुली बलेको थियो ।

तपाईको प्रतिक्रिया