काठमाडौं । एस दि हिमालय ट्रेकिङ कम्पनीले आफ्नो कम्पनी र सञ्चालकको नाम जोडेर केही अनलाइन सञ्चार माध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाएको छ। कम्पनीले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै ‘इमेजखबर डटकम’ लगायतमा प्रकाशित ‘एससीइ द हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु’ भन्ने समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पारेको हो।

कम्पनीका जनरल मेनेजर सुजन खत्रीद्वारा जारी विज्ञप्तिमा, तथाकथित ‘नक्कली उद्धार प्रकरण’ मा सीआईबीले अनुसन्धान थालेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नभएको उल्लेख छ। कम्पनीले सम्बन्धित निकायसँग बुझ्दा त्यस्तो कुनै पनि अनुसन्धान वा उजुरी प्रक्रिया अगाडि नबढेको र स्वयम् निकायहरू यस विषयमा अनविज्ञ रहेको जानकारी दिएको छ। विज्ञप्तिमा यो भ्रामक समाचार सम्प्रेषण हुनुको पछाडि राजनीतिक स्वार्थ रहेको दाबी गरिएको छ। कम्पनीका सञ्चालक प्रेमकुमार खत्री आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट गोरखा क्षेत्र नं‍ १ बाट उम्मेदवार छन्।

कम्पनीले आफ्नो व्यावसायिक प्रतिष्ठा र उम्मेदवारको व्यक्तित्वमा आँच पुऱ्याउने तत्वहरू विरुद्ध कानुनी उपचारको प्रक्रिया अगाडि बढाउने जानकारी दिएको छ। पत्रकारिताको न्यूनतम मर्यादा समेत ख्याल नगरी तथ्यहीन समाचार सम्प्रेषण गर्ने पक्षलाई कडा कारबाहीको माग समेत गरिएको छ।

विज्ञप्ति मार्फत सम्पूर्ण शुभेच्छुक, मतदाता र आम नागरिकलाई यस्ता प्रायोजित र भ्रमपूर्ण समाचारको पछाडि नलाग्न र सत्य तथ्य बुझेर मात्र धारणा बनाउन ‘एस दि हिमालय’ ले हार्दिक अपील गरेको छ।

यता कम्पनीका सञ्चालक समेत रहेका गोरखा क्षेत्र नं. १ का उम्मेदवार प्रेमकुमार खत्रीले समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् । एक भिडिओ सन्देश जारी गर्दै उनले आफ्नो जीवन खुला किताव जस्तै रहेको प्रतिकृया दिएका छन् ।

‘मेरो जीवन हिजोपनि खुला किताव थियो, आजपनि छ र भोलीपनि रहनेछ’ खत्रीले भनेका छन् ‘राजनीतिलाई पेशा नभई सेवाको भाव ठानेर गर्दै आएको सामाजिक काम र आगामी चुनावी नतिजाबाट अताल्लिएर निर्वाचनको पूर्वसन्ध्यामा मतदातालाई भ्रममा पार्न गरिएको यो दुस्साहस मात्रै हो ।’

तपाईको प्रतिक्रिया