• रत्ननगर । रत्ननगर–१, बकुलहरमा कांग्रेस चितवन क्षेत्र नं १ ले सम्पर्क कार्यालय स्थापना गरेको छ ।
    सो अवसरमा प्रमुखअतिथि राष्ट्रिय सभा सदस्य गीता देवकोटाले चितवन १ का कांग्रेस उमेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी आफू पदमा नरहँदा पनि जनताकै सेवामा समर्पित रहेको र दुईपटक पराजित भइसक्दा पनि बिचलित नभईकन पार्टीलाई योगदान दिएको भन्दै यसपटक हार्ने छूट नभएको बताइन् । उनले भनिन्, ‘सरल, शालिन स्वभावका उहाँले समाजमा गरेको योगदानकै कारण यतिबेला मतदाताको रोजाइमा हुनुहुन्छ । उहाँको प्रतिस्पर्धी उहाँ आफैँ मात्र हो । कांग्रेसका जनप्रतिनिधिहरुले गरेका जनमुखी कामको मूल्याङ्कन गरेर उहाँलाई भारी मतका साथ जिताउन लागौँ ।’
    उमेदवार बुर्लाकोटीले जेनजी आन्दोलनपछि रुपान्तरित भएको पार्टी कांग्रेस भएको र कांग्रेसले १६५ वटै क्षेत्रमा कुनै पनि दाग नलागेका उमेदवार उठाएको भन्दै बहुमत आउने गरी कांग्रेसलाई जिताउन आग्रह गरे ।
    उनले भने, ‘मलाई व्यक्तिगतरूपमा कसैले चिन्नु पर्दैन । कांग्रेसलाई चिने पुग्छ । कांग्रेसको चुनाव चिह्न रुखलाई चिने पुग्छ । मत बदर नहुने गरी रुखमा मतदान गरी गगन थापालाई प्रधानमन्त्री बनाउन लाग्नुहोस् ।’
    सम्पर्क कार्यालयमा खटाइएका वडा संयोजक ओम डल्लाकोटीले निर्वाचनमा महिलाको भूमिका बढी हुने भएकाले आफ्नो घरपरिवार, टोलछिमेक र वडामा मत खेर नजाने गरी मतदातालाई सिकाउन आवश्यक रहेको बताए । कांग्रेसको जिम्मेवारीमा रहेका हरेकले आआफ्नो भूमिका निर्वाह गरी मत संरक्षण गर्न र आफ्ना उमेदवारलाई जिताउन हरसम्भव प्रयास गर्न आग्रह गरे ।
    कार्यक्रममा कांग्रेसका पुराना नेता हरिलाल सुवेदी, नेमराज पौडेल, त्रिलोलन रिजाल, बाबुराम गौतम, भागीरथी चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    रत्ननगर–१ कांग्रेस वडा सभापति एवम् वडाध्यक्ष कुलप्रसाद सापकोटाले वडावासीलाई निःशुल्क खानेपानी, पूर्वाधार विकास, शैक्षिक विकासलगायतका कामको मूल्याङ्कनका आधारमा पनि कांग्रेस उमेदवारका पक्षमा मत आउने अपेक्षा रहेको बताउँदै आफू उमेदवार रहँदा जत्तिकै मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया