चितवन । निरन्तर संघर्ष ग¥यो भने पर्याप्त आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण चितवनमा चूडामणि भुसालले दिएका छन् । २२ वर्षअघि आफ्नै घर छेउमा १५० ब्रोइलर कुखुराबाट पेसा सुरु गरेका भुसालको फार्ममा अहिले एक लाखभन्दा बढी लेयर्स कुखुरा रहेका छन् ।
भरतपुर महानगरपालिका–२३ जगतपुरका ४२ वर्षीय भुसालले विसं २०५४ मा आफ्नै घरसँगै खोर निर्माण गरेर १५० ब्रोइलर कुखुरा पाल्न सुरु गरेका हुन् ।
भरतपुरको प्राइम बैंकका प्रबन्धकको कोठामा भेटिएका भुसालले जोगी र साहु हुँदै यहाँसम्म आइपुगेको बताए । बाढी, बर्डफ्लु, जनआन्दोलन, नाकाबन्दीजस्ता संकट सहँदै यहाँसम्म आइपुगेको उनी बताउँछन् ।
विसं २०५९ मा राप्ती नदीले सबै कुखुरा बगाएपछि सम्पत्तिभन्दा ऋण चार गुणा पुगेको भन्दै उनले निरन्तर काम नछोडेकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको बताए ।
बाढीले १५ हजार कुखुरा बगाएपछि ऋणमा चुर्लुम्म डुबे पनि हरेश नखाएका भुसालले त्यसपछि पनि कुखुरापालन व्यवसायलाई निरन्तरता दिइरहे । यससँगै आफ्नो पुख्र्याैली चार कट्ठा जमिनलाई बढाएर त्यही ठाउँमा तीन बिघा १० कट्ठा जमिन पु¥याएको बताए ।
भुसालले भनेजस्तै दोस्रोपटक फेरि २०६२/०६३ को जनआन्दोलनसँगै उनलाई यही पेसाले जोगी बनायो । ऋण अरु थपिए पनि पेसालाई उनले निरन्तरता दिए । विसं २०६२ बाट उनले ब्रोइलरसँगै लेयर्स पनि पाल्न थाले ।
त्यतिबेला उनको कुखुरा ५० हजार पुगेका थिए । आँट बढ्दै गयो भुसालले भने “२०७१ सालमा नवलपरासीको धारापानीमा चार बिघा जमिन किनेर ४० हजार लेयर्स पाल्न थालेँ ।”
त्यसको दुई वर्षपछि उनले नवलपरासीकै दुम्कीवासमा पाँच बिघा जमिन किनेर ५० हजार लेयर्स पाल्न थाले । अझै विस्तारका लागि नवलपरासीकै मुडावासमा भुसालले तीन बिघा जमिन थपेका छन् ।
चार कट्ठा पुख्र्याैली जमीनबाट अहिले उनको जमिन १५ बिघा नाघेको छ । तीन ठाउँमा गरेर एक लाख १५ हजार लेयर्स छन् । भुसालका अनुसार श्रीमती सविना र छोरा शिवले अहिले व्यवसायमा सघाएका छन् । तीन स्थानमा गरेर ५५ मजदूरले कामसमेत पाएका छन् ।
पछिल्लो समय नोक्सानी बढेको भन्दै उनले चिन्ता व्यक्त गरे । बैंकको ऋण तिर्न गाह्रो परेकोमा चिन्ता व्यक्त गर्दै उनले बैंकका प्रबन्धक पदम पौडेलतर्फ हेर्दै हरेश भने नखाएको बताए । पढाइका बारेमा जिज्ञासा राख्दा सानो हुँदा पढाइमा खासै ध्यान नगएको बताए । उनले भने, “मैले कक्षा ५ सम्ममात्र पढेको हो, त्यही लेख्दिनुहोस् ।”
थोरै पढेकामा लुकाउनु पर्ने र चिन्तामा छैन । निरन्तर परिश्रम ग¥यो भने स्वदेशमै राम्रो गर्न सकिन्छ भन्ने उनको बुझाइ छ । उथलपुथल बनेको बजार, रोगको प्रकोप र बढेको गर्मीले यो पेसालाई निरन्तरता दिन कठिन हुने हो कि भन्ने चिन्ता भुसालमा रहेको छ ।