रवि रोषी
चितवन । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीको तेश्रो विश्व सम्मेलन असोज २६ गते हुने भएको छ ।
जिल्ला समन्वय समितीको सभाहलमा आयोजना हुन गईरहेको तेश्रो विश्व सम्मेलनको तयारी अन्तिम चरणमा पुगिसकेको चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितीका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले बताउनुभयो ।
हिन्दुहरुको महान पर्व बडादशैंको अवसरमा विभिन्न देशदेशावरबाट नेपाल आउने क्रम संगै विश्व सम्मेलनको तयारीमा पनि रौनकता छाउँदै आएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
चितवनको विकास र सामाजिक भावना, समाजको एकता र समृद्धिको चाहना भन्ने मूल नाराको साथ अघि बढेको संस्थाले प्रवासको साथै आफ्नो जिल्लावासी विपन्न वर्ग लगायत सिमान्तकृत जातीहरुको शैक्षिक उत्थान, र अन्य शिर्षकमा पनि योगदान दिँदै आएको छ ।
विश्व सम्मेलनको तयारी संगसंगं प्रचार प्रसारको साथै निमन्त्रणाको कार्य पनि तीब्र रहँदै आएको संस्थाका महासचिव गणेश ढकालले बताउनुभयो ।
सोहि क्रममा विदेशबाट विदामा घर आएका तथा सदाको लागि प्रवास छोडेर नेपाल आईसक्नुभएका चितवनवासी तथा चितवन बाहिरका पूर्व प्रवासीहरु, सबैलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाईदिन पनि महासचिव ढकालले आग्रह गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया