सप्तरी । छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको श्मशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ ।
साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीवासीले बनाउन सुरू गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो ।
दशगजामै खेती गर्ने र झुप्रा लगाउने गरेका भारतीयले सीमा अतिक्रमण गर्ने ध्येयले सीमा क्षेत्रको नेपाली भूमिमा श्मशानघाट बनाउन रोकेको छिन्नमस्ता गाउँपालिका–४ लालापट्टीका धनञ्जय यादवको भनाइ छ । छिन्नमस्ता गाउँपालिका वडा नं ४ का वडाध्यक्ष रामनन्दन पण्डितले दसगजा क्षेत्र देखाउँदै भने, ‘भारतीयहरूले दसगजामै खेती गरिरहेका छन् तर हामीले आफ्नै भूमिमा श्मशानघाट बनाउन पाएनौंँ ।’
एसएसबीले दक्षिणी सीमा क्षेत्रका नेपालीमाथि अनावश्यक दुःख दिने र उसैको आडमा भारतीयले सीमा अतिक्रमण गर्दै आएको बताइन्छ ।
सुरूमा नाप नक्शा हुँदा जग खन्दा नबोलेको एसएसबी पर्खाल ठड्याएपछि कामै गर्न नदिने गरी प्रस्तुत भयो । ‘त्रियुगा खोला वारिको त्यो नेपालकै भूमिमा पर्छ, जहाँ पुस्ताँैदेखि शव जलाउँदै आएका छौंँ तर जब श्मशानघाटका लागि पर्खाल खडा गरियो, एसएसबीका जवानले अवरोध गरे’ ७३ वर्षीय बमभोली राउतले भने, ‘धम्क्याउने, बन्दुक देखाउने र काम नरोके जे पनि हुन सक्ने धम्की दिएपछि निर्माण कार्य अधुरो हुनै छाड्यौंँ ।’
चर्को घाम, वर्षा र हावाहुरीबाट शव र मलामीलाई जोगाउने उद्देश्यले बनाउन खोजिएको काम अलपत्र छ । सप्तरीको ७८ किलोमिटर भूभाग भारतसँग जोडिएको छ । पूर्व कोशी नदीदेखि पश्चिम बलान खोलासम्म मुख्य, साना र सहायक गरी ६५० सीमास्तम्भ रहनुपर्नेमा अधिकांश छैनन् ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले ३४ मुख्य स्तम्भ अवस्थित हुनुपर्नेमा २२ मात्र रहेको बताए ।
अधिकांश साना र सहायक स्तम्भ हराएको वा बाढीले बगाएको ठाकुरले बताए । उनका अनुसार सीमा क्षेत्रमा अतिक्रमण गरी बसोबास तथा खेतीपाती गर्ने कार्य भइरहेको छ । पुराना स्तम्भ हराएपछि नयाँ नबनाइएकाले भएका स्तम्भको दूरीमा लामो भएको छ ।
सीमास्तम्भ हराएकोे, बाढीले बगाएको, गायब पारिएकाले र बाँकी भएका पनि लामो दूरीमा मात्र भएकाले सीमा नै कहाँ हो भन्ने पत्ता लगाउन समस्या छ । सप्तरीका २१ ठाउँमा दसगजा नै नदेखिने सशस्त्र प्रहरी बल ६ नं गणका प्रहरी उपरीक्षक उद्धव न्यौपानेले बताए ।
सप्तरी क्षेत्रमा २१२ देखि २४५ नं का ठूला मुख्य स्तम्भ अवस्थित रहनुपर्ने हो । न्यौपानेले भने, ‘पूर्व कोशी नदीमा रहेको २१२ नं को मुख्य स्तम्भ पानीभित्र भएकाले भेटिँदैन भने पश्चिम बलान खोलामा हुनुपर्ने २४५÷१ र २४५÷२ नं को स्तम्भ पनि छैन ।’ पश्चिम बेल्हीको दसगजामा २४५ नं को मुख्य स्तम्भ भने यथावत् छ ।
मुख्य, साना र सहायक गरी हुनुपर्ने ६५० स्तम्भमध्ये गत वर्ष २०२ वटा फेला परे जसमध्ये दुई वटा फेरि बाढीले बगाएकाले भेटिएन । रामनगर कोदरकट्टी र पातोमा रहेको दुई स्तम्भ यो वर्ष हराएको उनले जानकारी दिए ।
गाउँले भने केही हराएको र बगाएको तथा केही भारतीयले गायब पारेको बताउँछन् । तिलाठी कोइलाडी गाउँपालिका–१ का दुर्गानन्द झाले तिलाठी कोइलाडीस्थित स्तम्भ ६००÷७०० मिटर उत्तर नेपालतर्फ सारेर गाडिएको बताए । पहिले रहेका सखुवा काठका स्तम्भ मक्किएर, बगेर गएपछि नयाँ २२३ नं को स्तम्भ र त्यसका सहायक स्तम्भ संयुक्त सर्भे टोलीले देखाएको स्थानभन्दा भारतीय सीमा सुरक्षा बलले फरक स्थानमा गाडेको उनले दावी गरे ।
अन्तर्राष्ट्रिय मान्यतानुसार दुई देशबीचको दसगजामा कुनै संरचना बनाउन पाइँदैन तर सखडा, लालापट्टी, तिलाठी कोइलाडी, बेल्ही, रम्पुरा मल्हनिया, गोबरगाढा, रामनगर कोदरकट्टीलगायत १२ स्थानमा भारतीयले खेतीपाती गर्दैआएका छन् भने कतिपय स्थानमा झुप्रो राखेका छन् । दसगजा क्षेत्र मिचेको विषयमा बेलाबेलामा दुई देशका नागरिकबीच विवाद र झडप हुँदै आएको छ ।
लालापट्टीमा भारतीयले हत्या नै गरेको र तिलाठीमा टाउको फुटाएको घटना स्मरण गर्दै लालापट्टी घर भएका पूर्व सिँचाइमन्त्री उमेश यादवले भने, ‘छिमेकीसँगको सम्बन्ध सुमधुर हुनुपर्ने हो तर युगौंँदेखिको रोटीबेटीको सम्बन्ध भनेर खुला सिमानाको फाइदा उठाउँदै हेप्ने काम भारतले बन्द गर्नुपर्छ ।’ रासस