चितवन- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिका कारण पार्टी भड्खालोमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
नेपाली कांग्रेस रत्ननगर नगरसमितिले शनिबार टिकौली चौरमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा वरिष्ठ नेता पौडेलले गरेको पार्टी सभापति शेरबहादुर देउवाको खुलेर आलोचना गरेका हुन् ।
उनले पार्टीभित्रको कमजोरी खोज्नुपर्नेमा सभापतिले कमजोरी लुकाउने प्रयास गरेको आरोप लगाए । पार्टीलाई रोगमुक्त बनाउन ९ वुँदे सुझाव पेश गरेकोमा त्यसलाई सभापतिले बेवास्ता गरेको पौडेलको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य एवं युवा नेता प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभई सत्ता कब्जा गर्ने गरी नेतृत्व लाग्नुपर्ने बताए ।
नेपाली कांग्रेस रत्ननगर नगरसमितिका सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय, कमला पन्त, नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न विधामा १२ जना तथा पार्टी पूर्व नगर सभापतिहरुलाई सम्मान गरिएको थियो ।
शिक्षातर्फ गोपाल शर्मा पौडेल, सामाजिक क्षेत्रतर्फ निरकला शर्मा, कृषितर्फ परशुराम तिवारी, प्रशासकतर्फ राधा बालिका, एकल महिलातर्फ अम्वाकुमारी कुँवर, व्यवसायीतर्फ अनिलकृष्ण श्रेष्ठ, विचार समाजतर्फ सुरेशचन्द्र आचार्य, धर्म संरक्षणतर्फ जगदीश चन्द्र शर्मा, पत्रकारितातर्फ अनिता अर्याल, विपद् व्यवस्थापनतर्फ मनबहादुर थापा, द्वन्द्व प्रभाविततर्फ उत्तम देवकोटा, रत्ननगर ११ का पार्टी सभापति सीतु अधिकारी तथा पार्टी नगर सभापतिहरु महेश रौनियार, समरबहादुर मल्ल, खडानन्द पौडेललाई सम्मान गरिएको थियो भने पूर्वसभापति स्व. नन्दलाल पौडेललाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।