
चितवन- चितवनको नारायणी नदी किनारमा आगामी माघ ११ देखि फागुन ११ गतेसम्म सञ्चालन हुने विराट मासिक ज्ञानमहायज्ञको मूल आयोजक समारोह समिति विस्तार गरिएको छ ।
महायज्ञलाई सभ्य र भव्यरुपमा सम्पन्न गराउनका लागि शनिबार दुई हजार एक सय मूल आयोजक समारोह समिति विस्तार गरिएको हो । लालबहादुर दवाडीको संयोजकत्वमा गठित मूल आयोजक समारोह समितिको महासचिव एवम् प्रवक्ताको रुपमा दिलीप न्यौपाने रहेका छन् । कार्यसम्पादन सहजताका लागि ११ सदस्यीय सचिवालय समितिसमेत निर्माण गरिएको छ ।
सचिवलायको संयोजकमा लालबहादुर दवाडी, महासचिवमा दिलीप न्यौपाने, सदस्यहरुमा मनोज पुडासैनी, रामबहादुर कुँवर, कृष्णश्याम गिरी, चेतनाथ वाग्ले, तुलाराम विक र रामहरि दवाडी रहेका छन् भने तीन सदस्य पछि थपिने जनाइएको छ ।
त्यस्तै महायज्ञको सल्लाहकार संयोजकमा नारायणप्रसाद आचार्य रहेका छन् । सो महायज्ञमा ४५ वटा उपसमिति, ३३ जनाको कार्य सम्पादन समिति, १०८ जनाको पूर्ण कमिटी निर्माण गरिएको महायज्ञका प्रवक्ता न्यौपानेले जानकारी दिए ।
३० दिनसम्म नारायणी नदी किनारमा सञ्चालन हुने महायज्ञमा दिउँसो ३० तथा बेलुकी ३० जना प्रमुख अतिथि एवम् दिउँसो पाँच तथा बेलुकी पाँच जना विशिष्ट अतिथि राखिने न्यौपोनले बताए ।
नदी किनारमा सञ्चालन हुने १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष विराट मासिक ज्ञानमहायज्ञ २०७६ को तयारीका काम तीव्र गतिमा भइरहेको महायज्ञका प्रमुख वाचक युवा
पण्डित बालयोगेश्वर महाराजश्रीले बताए ।
१०८ कुण्डीय कोटिहोम स्थलमा नौ तले यज्ञ मण्डप निर्माणको काम भइरहेको उल्लेख गर्दै महाराजश्रीले मण्डपस्थल छाउने काम भइरहेको जानकारी दिए । एकैसाथ तीन हजारभन्दा बढी भक्तजनले कथा श्रवण गर्न सक्ने गरी तीन कठ्ठा जमिनमा मण्डप निर्माण भइरहेको महाराजश्रीले बताए ।
चितवनमा आयुर्वेदिक शिक्षालय स्थापना, क्यान्सर रोगबाट पीडित विपन्न परिवारलाई सहयोग तथा जगतपुरको १२ बिघा क्षेत्रफलमा रहेको पशुपति मन्दिरलाई बृहत् धामको रुपमा विकास गर्ने उद्देश्यले धार्मिक महोत्सवको आयोजना गर्न लागिएको हो ।
नेपाल भ्रमण वर्ष २०२० आगमनसँगै नेपालमै ठूलो धार्मिक महोत्सवको आयोजन गरिएको उल्लेख गर्दै महाराजश्रीले यो महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पु¥याउने बताए ।
उक्त विराट मासिक ज्ञानमहायज्ञमा २५ करोड रुपैयाँ आर्थिक सङ्कलन गर्ने लक्ष्य रहेको छ भने महायज्ञ सफल पार्नका लागि करिब पाँच करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा देशभरबाट १० लाख भक्तजन आउने अपेक्षा गरिएको छ ।
महायज्ञका सङ्कल्पकर्ता धर्मपाल वशिष्ठ गुरुले महायज्ञ सञ्चालन हुनुपूर्व विभिन्न २९ स्थानमा हवन सक्ने सङ्कल्पसहित काम भइरहेको बताए । सो महायज्ञमा दैनिक एक हजार जना भक्तजनहरुलाई निःशुल्क रुपमा गाँस र आवासको व्यवस्थासमेत गरिनेछ ।