चितवन- दसौँ संस्करणको रत्ननगर महोत्सव २०७६ को एघारौँ दिनसम्म आइपुग्दा अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख नाघेको छ ।
महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल संयोजक राजाराम रेग्मीका अनुसार सोमबारसम्म तीन लाखभन्दा बढीले महोत्सव अवलोकन गरेका हुन् । सोमबार महोत्सव प्रमोद खरेल आउने कारण पनि दर्शकहरु बढेका रेग्मीले बताए । महोत्सवमा खरेलले आफ्ना चर्चित गीतहरु गाएका थिए ।
रत्ननगरको टिकौली चौरमा आयोजना भइरहेको महोत्सवमा सोमबार नै उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिलाई स्वागतसमेत गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताए । महोत्सव स्थलमा पुगेका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठसहितको सम्पूर्ण नयाँ कार्यसमितिलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसहितको टोलीले स्वागत गरेको हो । आगामी माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सोमबार पूर्वीचितवनस्तरीय ब्याडमिन्टन प्रतियोगितासमेत भएको छ । महोत्सवका खेल संयोजक दिनेश कट्टेलका अनुसार १५ टिम सहभागी प्रतियोगितामा सोमबार १० वटा खेल भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार गरिने कट्टेलले बताए । त्यस्तै मंगलबार नै रत्ननगरका जनप्रतिनिधि र रत्ननगर महोत्सवको स्टेरिङ समितिबीच डोरी तान्ने प्रतियोगिता, घैँटो फुटाइ, म्युजिकल चेयर हुने कट्टेलले जानकारी दिए ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पु¥याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले बताए ।

सो महोत्सवअन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित ५२१ वटा स्टल राखिएको खनालले बताए ।

यसैबीच, महोत्सव अन्तर्गत पुस २९ देखि शुरु भएको चिकेन एण्ड एग फुड फेस्टिबलको समेत मंगलबार समापन गरिएको संयोजक ज्ञानबहादुर विसुरालले बताए । पोल्ट्री र पोल्ट्रीजन्य पदार्थको खपत बढाउने उद्देश्यसहित पूर्वी चितवनको टाँडी चोकमा फुड फेस्टिबलको आयोजना गरिएको थियो ।

फेस्टिबलमा उल्लेख्यरुपमा दर्शक तथा खानाका पारखीहरु सहभागी भएका विसुरालले बताए ।

तपाईको प्रतिक्रिया