चितवन- विद्यार्थीको बोल्ने कला विकास गर्न चितवनकोे पहिलो रेडियो सिनर्जी एफएम ९१,६ मेगाहर्जले ‘प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन’ को दोस्रो संस्करणको अडिसन वाल्मीकि शिक्षा सदनमा सम्पन्न गरेको छ ।
आज भएको दोस्रो सस्करणको छनोटमा ४ जना विद्यार्थी छनोट भई दोस्रो चरणमा प्रवेश गरेका छन् । दोस्रो चरणमा प्रवेश गर्नेहरुमा सौम्या गुप्ता, स्विजल काफ्ले, गीता न्यौपाने र कृतिका पण्डित रहेका छन् । आजको अडिसन सकिएसँगै अन्य विद्यालयहरुमा पनि अडिसन गर्न लागिएको बताउदै रेडियोका स्टेसन म्यानेजर रामकान्त पौडेलले अब सबै विद्यार्थीले तयारी गर्न आग्रह गरेका छन् ।
यसैबीच, यस वर्षको अडिसन तनहुँ, मकवानपुर र गोर्खामा पनि हुने भएको छ । यसअघिको पहिलो सिजन चितवन र नवलपुरका विद्यालयहरुमा गरिएको भए पनि यसवर्ष ३ वटा जिल्ला थप गरिँदै अझ बृहत् बनाएको पौडेलले जानकारी दिए ।

अब चितवनसहित नवलपुर, तनहुँ, मकवानपुर र गोर्खाका विद्यालयहरुमा अडिसन गरिने छ । प्रतियोगितामा विभिन्न छनोट चरण हुनेछ । अडिसनबाट प्रतियोगिताको फाइनल हुँदै उपाधि जित्नेले एक लाख एक हजार, दोस्रो हुनेले ५० हजार पाँच सय र तृतीय हुनेले २५ हजार दुर्इ सय पचास रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो संस्करणको पहिलो अडिसनअन्तर्गत भरतपुरको सनराइज ईङ्गलिस बोडिङ स्कुलबाट ४ जना विद्यार्थी छनौट भई दोस्रो चरणमा प्रवेश गरिसकेका छन् ।

विद्यार्थी, शिक्षक, अभिभावक र श्रोताको मागलाई ध्यानमा राखी ‘‘प्रोफेसनल एजुकेशन पब्लिक स्पिकिङ च्याम्पियन–२०२०’ नाम दिएर दोस्रो संस्करण सुरु गरिएको रेडियोका कार्यक्रम संयोजक रविन सुवेदीले जानकारी दिए ।

प्रतियोगीतामा १०० भन्दा बढी स्कुल क्याम्पसका विद्यार्थीहरु सहभागी हुनेछन् । कार्यक्रमको टाईटल स्पोन्सर ‘प्रोफेसनल एजुकेशन कन्सलटेन्सी, मुख्य प्रायोजक पेन्गुईन एजुकेशन कन्सलटेन्सी, सहप्रायोजक नेपाल लोकसेवा तयारी केन्द्र, प्रायोजक नारायणी मोटर्स र साउन्ड पार्टनरको रुपमा एसएसएस साउन्ड रहेका छन् ।

अफिसियल टेलिभिजन आभाष टेलिभिजन रहेको छ । विसं २०५८ सालमा स्थापना भएको सिनर्जी एफएमले स्थानीय र स्रोतामुखी कार्यक्रम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया