अजित अधिकारी
चितवन- राष्ट्रिय निकुञ्ज ऐन २०२९ संशोधनसहित विभिन्न सातबुँदे माग राख्दै अनशन बसेका माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको मागप्रति माडीवासी जनताले ऐक्यबद्धता जनाएका छन् ।
नगर प्रमुख ठाकुरप्रसाद ढकालले माडीवासी जनताहरुको तर्फबाट आमरण अनशन घोषणा गरी अन्तिम समयमा स्थगित गरे पनि वडाध्यक्ष र वडा सदस्यहरुले फागुन ७ गतेदेखि अनशन बसेका हुन् । अनशनरत पौडेललाई भेट्न जिल्लाबाट नेपाली काँग्रेसका चितवन जिल्ला सभापति जितनारायण श्रेष्ठलगायतका नेताहरु माडी आएका थिए ।
सो अवसरमा सभापति श्रेष्ठले माडीवासीको जनताको लागि अनशन बसेर वडाध्यक्षसहितका जनप्रतिनिधिले राम्रो काम गरेको भन्दै खुसी व्यक्त गरे । उनले मेयर ढकालले अनशन स्थगित गर्दै गर्दा माडी १ का वडाध्यक्ष पौडेलले अनशन बस्ने आँट गरेको र माडीवासी जनताको लागि देखाएको महान् बहादुरीलाई माडीवासी जनताहरुले कहिल्यै पनि भुल्न नहुने बताए ।
जिल्ला सभापति श्रेष्ठले माडीवासीको हकहितमा सत्याग्रह गर्दा यो पार्टी, ऊ पार्टी भनेर भन्नुभन्दा पनि सबै जनता मिलेर यो अनशनलाई साथ दिनुपर्ने बताए ।
यसैबीच, अनशनरत पौडेलले माडीवासी जनताको पक्षमा आफू निरन्तर लागिपरेको र निकुञ्ज ऐन २०२९ को ऐनका कारण माडीवासीहरुले भोग्नु परेको घटनालाई मध्यनजर गर्दै अनशन बस्न बाध्य भएको बताए ।
उनले भने, ‘अनाहकमा माडी नगरपालिका १ का बाबुराम पौडेल र उनका छोरा राजु पौडेलले यात्रा गर्ने क्रममा हात्तीको आक्रमणमा परी ज्यान गुमाउनुपर्यो । अब कसैले पनि वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउनु नपरोस् भनेर अनशन बसेको हुँ ।’
‘माडीवासी जनताको पक्षमा रहेर अनशन बस्दा माग सम्बोधन भयो भने जनताको मुहारमा उज्यालो किरण आउँछ’, उनले भने, ‘जनताको मुहार उज्यालो बनाउनको लागि मेरो अनशन हो ।’
राष्ट्रिय निकुञ्ज २०२९ को ऐन संशोधन र जनमैत्री हुनुपर्नेलगायतका मागहरु राखी पौडेल अनशन बसेका हुन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौँ संशोधन) नियमावली २०७६ ले माडीजस्तो बहुउपेक्षित क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारसहितको संरक्षणका लागि पुनः संशोधित हुनुपर्ने, बाँदरझुला साथै अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने मागहरु अनशनमा राखिएका छन् ।
यस्तै, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोस रुपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने साथै उत्तरी सिमानामा पर्ने रिउ खोला करिडोरको निर्माण व्यवस्थित हुनुपर्ने, लागत तथा उत्पादनको आधारमा बालीको क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने माग उठान गरिएको छ ।
यसैगरी, कसरादेखि वनकट्टा हुँदै बगहीदेखि बाँदरझुलासम्मको बाटो पूर्णरुपमा स्तरोन्नति गरिनुपर्ने चौबिसै घन्टा आवतजावतको व्यवस्था हुनुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना हुनुपर्ने र प्राकृतिक श्रोत र साधनमा पूर्णरुपमा स्थानीय निकायको अधिकार हुनुपर्ने माग रहेका छन् ।