चितवन- नेपाली कांग्रेस चितवनले माडीवासीको माग सम्बोधन गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

शनिबार काग्रेस जिल्ला सभापति जीतनारायण श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा निकुञ्ज तथा वन संरक्षण ऐनमा संशोधनको माग गर्दै आमरण अनशनरत माडी १ का वडाध्यक्ष पौडेलको स्वास्थ्य अवस्था बिग्रँदै गएकोले स्थानीयको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।

‘विभिन्न माग राखी अनशनरत कांग्रेसका स्थानीय नेता एवं माडी १ का वडाध्यक्ष पौडेलको स्वास्थ्य कमजोर बन्दै गइरहेको हुँदा जनसमुदायको समस्याप्रति सरकारकै अग्रसरतामा समस्या समाधान गरी अनशनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग समक्ष जोडदार माग गर्दछौँ’, जारी विज्ञप्तिमा भनिएको छ ।

यस्तै, कांग्रेस चितवनले माडीवासीको मागप्रति सरकार गम्भीर नभए कडारुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएको छ । माडीवासीको मागप्रति सरकार गम्भीर नभएको भन्दै कांग्रेसले शनिबार दिउँसो माडी १ वडा कार्यालयअगाडि हुलाकी सडकमा एक घन्टा चक्काजाम गरेको थियो ।

वडाअध्यक्ष पौडेलले निकुञ्ज ऐन २०२९ संशोधन गर्नुपर्ने, निकुञ्जबाट बढी प्रभावित वस्ती बाँदरझुला, अमिलियाको उचित व्यवस्थापन हुनुपर्ने, मानव र वन्यजन्तुको द्वन्द्व निवारणका लागि ठोसरुपमा वन र मानव बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, रिउ खोला करिडोरको निर्माण व्यवस्थित गर्नुपर्ने, लागत तथा उत्पादनको आधारमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायतका माग राख्दै फागुन ७ गतेदेखि आमरण अनशनमा रहेका छन् ।

अनशन बस्ने घोषणा गरेका मेयर ठाकुरप्रसाद ढकाल पछि हटेपछि पौडेलले माडीवासीको तर्फबाट अनशन सुरू गरेका हुन् । निकुञ्ज तथा वन संरक्षण ऐन संशोधन नभएसम्म माडीले विकासको गति लिन नसक्ने भन्दै उनले अनशन सुरू गरेका हुन् ।

तपाईको प्रतिक्रिया