चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले केन्द्र सरकारको निर्देशनानुसार पैदलयात्रीलाई सहजता प्रदान गर्दै आएको छ । विभिन्न जिल्लाबाट गाउँपालिका हुँदै घर जान हिडेँका पैदलयात्रीलाई खाजा खुवाउँदै पठाउने गरेका हुन् ।

लकडाउनका कारण प्रभावित भई राजधानी काठमाडौँ र धादिङबाट घर जान राजमार्गमा हिँडेरै आएका पैदलयात्रीलाई चितवन र धादिङको सीमाना मौवाखोलामा खाजा खुवाउँदै गाडीमा चढाएर गन्तव्यतर्फ पठाउने गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले जानकारी दिइन् । पैदलयात्रुलाई आवश्यक सहयोग गर्न निरन्तर आफैँ खटिएको गाउँपालिका अध्यक्ष गुरुङले बताइन् ।

अध्यक्ष गुरुङले भनिन्, “म केही दिन अघिदेखि निरन्तर खटिरहेकी छु केन्द्रीय राजधानी काठमाडौँ र धादिङदेखि आएका पैदलयात्रीलाई खाजा खुवाएर गाडी चढाउँदै उनीहरुलाई गन्तव्यतर्फ पठाउने गरेकी छु ।” गाउँपालिकाले पैदलयात्रीको स्वास्थ्य जाँचसमेत गरी पठाउने गरिएको उनले बताइन् ।

अध्यक्ष गुरुङका अनुसार अहिलेसम्म झण्डै एक हजार पैदलयात्रीलाई मौवाखोलाबाट गाडीमा चढाएर गन्तव्यमा पठाएका छन् । यतिमात्र नभई गाउँपालिकाले लकडाउनकै बेला देशका विभिन्न स्थानमा काम गर्दागर्दै अलपत्र परेका इच्छाकामना गाउँपालिकाका झण्डै १०० मजदूरलाई समेत उद्धार गरिएको छ ।

तपाईको प्रतिक्रिया