चितवन । खानेपानी मर्मतका लागि ‘फिल्ड’मा गएका बेला कर्मचारीले खसी ओसारेपछि जिल्ला प्रशासन कार्यालय चितवनले मौखिकरूपमा सोधपुछ गरी अबदेखि सरकारी सवारीसाधनको दुरूपयोग नगर्न निर्देशन दिएको छ ।
लकडाउनको समयमा जनतालाई सेवा दिने बहानामा व्यक्तिगत प्रयोजनको लागि सरकारी कर्मचारीले सरकारी सवारी प्रयोग गर्न नपाइने चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
यस विषयमा समाचार सार्वजनिक भएपछि विद्युत प्राधिकरण र खानेपानी बोर्डलाई सोधपुछ गरी पहिलो चरणको कारबाही गरिएको शर्माले बताए । अब पनि यस्तै गतिविधि गरेको पाइएमा थप कारबाही गर्ने उनको भनाइ छ ।
गत आइतबार विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रको बा १ ञ १६९९ नम्बरको गाडी खानेपानी मर्मतका लागि मंगलपुर गएको बहानामा खसी ओसार्न प्रयोग भएको थियो । गाडीमा खसी ओसारेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आइतबार भरतपुर खानेपानी वोर्डका सदस्य विश्व ओझाले उक्त खसी ल्याएका थिए ।











