-अजित अधिकारी
वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा सिँचाइको अभावका कारण किसानहरु समस्यामा परेको बताउँदै आएका छन् । साथै, उक्त सिँचाइ सेवा विस्तार गर्नको लागि निर्माणाधीन रुपमा रहेका सिँचाइ योजना विगत तीन वर्षदेखि अलपत्र अवस्थामा रहँदा किसानहरु आफ्नो खेतबारीमा सिँचाइ गर्न नपाउँदा सिँचाइ सेवाबाट वञ्चित रहँदै आएका छन् ।

उता, पर्साको ठोरी गाउँपालिकाको सुवर्णपुर क्षेत्रमा १७ किलोमिटरभित्र पर्सा राष्ट्रिय निकुञ्जबाट घोडामसान खोलाको पानी ल्याउने सिँचाइ आयोजना अलपत्र हुँदा अहिलेसम्म पनि यस विषयमा कुनै सरोकारवाला निकायले पनि आवाज उठाउन नसकेको स्थानीयवासीहरुले गुनासो गरेका छन् ।

यसैगरी, ठोरी गाउँपालिकास्थित वडा नं ५ अन्तर्गत रहेका सुवर्णपुर, गडुवालाइन, क्षेत्रीलाइन, तथा जिरा भवानी गाउँपालिका वडा नं १, २ र ३ मा पर्ने शान्तिनगर, भवानीपुर, पिपरा, काठमाडौँटोल, बसन्तपुर, हरैया र सखुवनियालगायतका गाउँका किसानहरु सो सिँचाइ आयोजनाबाट लाभान्वित हुने भए पनि सो योजना अहिलेसम्म अलपत्र परेको छ ।

झन्डै १८ करोड रुपैयाँको लगानीमा सुरु भएको आयोजना निर्माण कार्य एक वर्ष नवित्दै बन्द हुँदा किसानहरु निरास हुँदै आएको जिराभवानी गाउँपालिका वडा नं १ शान्तिनगरका किसान रविमोहन सापकोटाले बताए ।

आर्थिक वर्ष २०७३/०७४ मा सुरु भएका यस सिँचाइ आयोजनाअन्तर्गत पहिलो चरणको काममा जंगलभित्र करिब सत्र किलोमिटर लामो, ९० सेन्टिमिटर गहिरो र एक मिटर चौडाइ कुलो निर्माण भइसकेको योजना निर्माण समितिका अध्यक्ष जरी लामाले बताएका छन् ।

यसैगरी, सो जंगल बाहिर किसानको खेतसम्म सिँचाइ सेवा उपलब्ध गराउनको लागि चालिस किलोमिटर लामो कुलो निर्माण कार्यसमेत सम्पन्न गरिएको अध्यक्ष लामाले बताए ।

साथै, उनका अनुसार, पहिलो चरणको काममा पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र ६५ लाख र जंगल बाहिर किसानको खेतसम्मको कुलो निर्माणमा ८५ लाख रुपैयाँ खर्च भइसकेको अध्यक्ष लामाले बताए ।

लाखौँ खर्च भएकोअवस्थामा वातावरणीय मूल्यांकन रिपोर्ट इएमआई। सरकारले नदिँदा कुलो निर्माण कार्य हाल अबरुद्ध भएको निर्माण समितिका अध्यक्ष लामाले बताए । यो आयोजना पर्साको सुदूरपश्चिम उत्तर क्षेत्रको भविष्यसँग जोडिएको हुँदा यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग लामाले गरेका छन् ।

तपाईको प्रतिक्रिया