नवलपुर । गैँडा गणना २०१५ अनुसार हाल नेपालमा ६४५ वटा एक सिङ्गे गैँडा छन् । प्राचीन समयमा नेपाल, भरत, चीन, पाकिस्तान र बर्माका केही भागमा गैँडा पाइने गरेको भए पनि अहिले नेपाल र भारतमा मात्रै एक सिङ्गे गैँडा अस्तित्वमा रहेका छन् ।

विसं २००७ सम्म ८५० भन्दाबढी सङ्ख्यामा रहेको एक सिङ्गे गैँडा चोरीसिकारीको निशानामा पर्ने गरेको छ । गैँडाको खाग र खुर विश्व बजारमा अवैध रुपमा महङ्गो मूल्यमा बिक्री हुने भएकाले पनि यसको चोरीसिकारी हुने गरेको हो । गैँडाको खागले यौनवद्र्धक औषधिको काम गर्ने अन्धविश्वासका कारण चीनमा यसको गैरकानुनी रुपमा बिक्री हुँदै आएको बताउने गरिन्छ ।

नेपालबाट मारिएका गैँडाको खाग चीनमा लगेर बिक्री गर्ने गरिएको संरक्षणकर्मी बताउँछन् । विसं २००७ अघि ८५० भन्दा बढीको सङ्ख्यामा रहेका गैँडा २०१३ तिर १०० को सङ्ख्यामा झरेको थियो । विसं २०१४ मा ४००, त्यसको दुई वर्ष पछाडि ३०० गैँडा मात्रै जीवित रहेको चितवन राष्ट्रिय निकुञ्जको भनाइ छ । चोरीसिकारीका कारण नेपालमा गैँडा मार्ने क्रम नरोकिएपछि २०१९ सालमा गैँडा संरक्षणको लागि अवधारणा तयार पारेर राप्ती नदीको दक्षिणी भागमा महेन्द्र मृगकुञ्ज बनाएर गैँडा संरक्षणको लागि पहल भएको पाइन्छ ।

मृगकुञ्ज स्थापनासँगै चितवनका गैँडा जोगाउनको लागि अवकासप्राप्त सैनिकद्वारा २०२३ सालदेखि गैँडा गस्ती सुरू गरिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवरले बताए । गैँडा गस्ती सुरू भएपछि २०२५ सालमा गैँडाको सङ्ख्या केही बढेर १०८ पुगेको उनको भनाइ छ । गैँडा संरक्षणको काम निकै चुनौतीपूर्ण रहेकोले यसको संरक्षणमा निकुञ्ज र सेनाका साथै समुदायको पनि ठूलो भूमिका रहेको कुँवरले बताए ।

गैँडालगायतका लोपोन्मुख वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले २०२९ सालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन बन्यो । विसं २०३० नेपालकै पहिलो राष्ट्रिय निकुञ्जको रुपमा चितवन राष्ट्रिय निकुञ्जको स्थापना गरियो । लोपोन्मुख प्रजातिका वन्यजन्तुहरुको संरक्षण गर्न भन्दै चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका केही भाग समेट्दै स्थापना गरिएको चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रफल अहिले ९५२ वर्ग किलोमिटर रहेको छ ।

सुरूआती अवस्थामा चार जिल्लाको ५४४ वर्ग किलोमिटर क्षेत्रफललाई समेटेर निकुञ्ज स्थापना गरिँदा चितवनमा १४७ वटा गैँडा थिए । अवकास प्राप्त सेनाले गस्ती गरेपछि निकुञ्जमा गैँडाको सङ्ख्या क्रमिक रुपमा बढ्दै गएको पाइन्छ । २०३२ सालबाट नेपाली सेनालाई गैँडा संरक्षणको लागि चितवन राष्ट्रिय निकुञ्जमा परिचालन गरियो । निकुञ्जको क्षेत्र विस्तार गर्दै ९३२ वर्ग किलोमिटर पु¥याइएको थियो । २०५३ सालमा आएर मध्यवर्ती क्षेत्र समेत घोषणा गरियो ।

मध्यवर्ती क्षेत्र घोषणा गरेसँगै वन्यजन्तु संरक्षणमा स्थानीयवासीलाई समेत सहभागी गराउन थालिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । चोरीसिकारी नियन्त्रण युवा जागरण अभियानदेखि विभिन्न अभियानका कारण निकुञ्ज प्रभावितहरु समेत वन र वन्यजन्तु संरक्षणमा चासो दिँदै आएका बरालको भनाइ छ ।

चोरीसिकारी नियन्त्रणका लागि निकुञ्ज एक्लैको प्रयास सार्थक नहुने र यसका लागि सबैको भूमिका मह¤वपूर्ण रहने बरालले बताए । चितवन राष्ट्रिय निकुञ्जको वरिपरी रहेका चितवन, नवलपरासी, मकवानपुर र पर्साको ७५० वर्गकिलोमिटर क्षेत्रफललाई समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरी निकुञ्जको आम्दानीको ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रका बासिन्दालाई दिने व्यवस्था गरियो ।

यससँगै चितवन राष्ट्रिय निकुञ्जले संरक्षणमा ठूलो उपलब्धि हासिल गरेको छ । गैँडा संरक्षणको लागि चुनौती पहिचान गरी नियमित गस्तीको काम सुरू गरेपछि चितवन राष्ट्रिय निकुञ्जले चार पटकसम्म शून्य चोरीसिकारी नियन्त्रण वर्ष मनाउन सफल भएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले बताए ।

निकुञ्जले सन् २०११ मा पहिलो पटक शून्य चोरीसिकारी वर्ष मनाएको थियो । त्यसपछि सन् २०१३ मा शून्य चोरीसिकारी वर्ष मनाएको निकुञ्जले लगातार २०१५ र १६ मा समेत शून्य चोरीसिकारी वर्ष मनाउन सफल भएको रामले बताए ।

शून्य चोरीसिकारीमा निकुञ्ज, सेना र समुदायको मह¤वपूर्ण भूमिका रहेको रामको भनाइ छ । सेनाले निकुञ्जको संरक्षणमा मह¤वपूर्ण भूमिका खेल्दाखेल्दै पनि उनीहरुको आँखा छलेर सिकारीले गैँडा मार्दै आएका छन् ।

लगातार तेस्रो पटक शून्य चोरीसिकारी वर्ष मनाउने तयारीमा रहेको निकुञ्जमा मुख्यालय कसरा नजिकै २०७३ चैत २५ गते राति गैँडा मारेपछि सुरक्षा चुनौती थपियो । विसं २०७४ को वैशाख २० गते निकुञ्जले लगातार तेस्रो र समग्रमा पाचौँ पटक शून्य चोरीसिकारी नियन्त्रण मनाउने तयारी गरिरहँदा जगतपुरमा गैँडा मारिएको थियो ।

त्यसपश्चात निकुञ्जमा बढाइएको सुरक्षा सावधानीका कारण केही वर्ष निकुञ्जमा चोरीसिकारीका कारण गैँडाको मृत्यु भएको थिएन । करिब साढे तीन वर्षपछि पुनःगत भदौ २१ गते चोरीसिकारीका कारण एउटा गैँडाको मृत्यु भएको छ । यद्यपि उक्त गैँडाको खाग र खुर भने सुरक्षित रहेको सहायक संरक्षण अधिकृत रामले जानकारी दिए ।

निकुञ्जमा सेनाले सुरक्षा दिएपछि बढ्दै गएको गैँडाको सङ्ख्या नेपालभर २०५७ सालमा ६१२ पुग्यो । त्यसपछिको केही समय मुलुकको आन्तरिक द्वन्द्वको चपेटामा गैँडासमेत परेको देखिन्छ । विसं २०५९ मा गैँडाको सङ्ख्या घटेर ५४४ पुगेको थियो । लगत्तै २०६२ सालमा चितवन राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या ३७२ मा झरेको देखिन्छ । त्यो समयमा नेपालभर ४०९ वटा मात्रै गैँडा रहेका थिए ।

सन् २०१५ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवनमा ६०५ तथा नेपाल भर ६४५ वटा गैँडा पाइएको छ । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सेनाको पोस्ट द्वन्द्वकालमा सात वटामा खुम्चिएको थियो भने अहिले ५६ ठाउँमा पोस्ट स्थापना गरिएको छ । विसं २०५२ देखि २०७३ सालसम्म निकुञ्जको गैँडा मुद्दामा फरार रहेका विभिन्न अभियुक्तहरु पक्राउ गर्न सुरक्षाका सबै संयन्त्रसँग सहकार्य गरिएको छ । निकुञ्जले हालसम्म १५० भन्दा बढी व्यक्तिलाई गैँडा मुद्दामा कारबाही गरिसकेको छ ।

त्यस्तै गैँडा मारेको घटनामा संलग्न रहेको आरोपमा विभिन्न एक सयभन्दा बढी व्यक्तिको खोजी कार्य जारी राखेको छ । गैँडा मुद्दामा पाँच वर्षदेखि १५ वर्षसम्म कैद वा पाँच लाख रूपैयाँदेखि १० लाख रूपैयाँ जरिवाना वा दुवै सजायँको व्यवस्था गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका गैँडा विभिन्न समयमा बर्दिया र शुक्लाफाँटामा समेत स्थानान्तरण गरिँदै आएको छ ।

सन् २००० देखि चितवनका गैँडा बर्दिया र कञ्चनपुर लैजान लागिएकोमा सन् २०१७ सम्म १०० गैँडा स्थानान्तरण गरिसकिएको छ । स्थानान्तरण गरिएकामध्ये अहिले ४० वटा गैँडा मात्रै ज्यूँदा रहेका छन् । नेपालबाट दुईवटा गैँडा उपहारस्वरुप चीनलाई प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया