काठमाडौँ । नेपालमा कोरोनाा संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ८९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप १७ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ ।

बुधबार मात्रै नेपालमा थप १७ जना कोरोनाभाइरस संक्रमितको मृत्यु भएको मन्त्रालयको भनाई रहेको छ । योसँगै नेपालमा कुल मृतक संख्या ३,२११ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७९ हजार २७९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएको मन्त्रालय जनाएको छ ।

तपाईको प्रतिक्रिया