महेश पाण्डे
चितवन । रत्ननगरमा अझै कोरोनाको ग्राफ सुध्रने अवस्थामा देखिएको छैन । बुधवार २० जना कोरोना संक्रमित थपिएसँगै जम्मा संख्या ४६७ पुगेको छ । कोरोना महामारीको दोस्रो लहरको सुरुवात भएसँगै बढेको रत्ननगरको कोरोना ग्राफ घट्ने भन्दा पनि हालसम्म पनि बढ्ने क्रममानै रहेको देखिएको छ ।

रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख माधव पौडेल यसो हुनुको कारण बकुलहर रत्ननगर अस्पतालमा सुरु भएको कोरोना एन्टिजेन परिक्षण पनि रहेको बताउछन् । पौडेलले नेपालीको आवाज डटकमलाई बताए अनुसार हप्ताको ४ दिन सो अस्पतालमा कोरोना एन्टिजेन परिक्षण सुरु गरेसँगै संक्रमितको संख्या बढ्दो क्रममा देखिएको भएपनि भरतपुरबाट आउने संक्रमितको आकंडामा भने कमि आएको छ ।
बुधबार अर्थात जेष्ठ १२ गते एकै दिन २० जना कोरोना संक्रमित थपिएसंगै कोरोनाको यो दोस्रो लहरमा संक्रमितको संख्या रत्ननगरमा ४६७ पुगेको हो । बुधबार थपिएका कोरोना संक्रमितसँगै रत्ननगरमा कोरोनाको दोस्रो लहर अर्थात बैशाख ३ गते देखि यता जेष्ठ १२ गते सम्ममा संक्रमितको संख्या ४६७ पुगेको हो । जसमा २९५ जना संक्रिय संक्रमित, २८१ जना होम आइसोलेसनमा, १२ जना हस्पिटलमा र २ जना नगरको आइसोलेसन अर्थात बकुलहर रत्ननगर अस्पतालमा रहेका छन् भने १६० जनाले कोरोनालाई जित्न सफल भएका छन् । जसमा २०० जना महिला अर्थात ४५ प्रतिशत र पुरुष २४७ अर्थात ५५ प्रतिशत रहेका छन् । हालसम्म कोरोनाको यो दोस्रो लहरमा १२ जनाको कोरोनाकोनै कारणले मृत्यु भइसकेको छ ।
यसैबिच रत्ननगर नगरपालिकाले बकुलहर रत्ननगर अस्पताल लगाएत अन्य स्वास्थ्य चौकीमा कोरोनाको निशुल्क एन्टिजेन परिक्षण गर्दै आएको छ । हालसम्म गरिएको एन्टिजेन परिक्षणमा ३९ जना पोजेटिभ आएको छ भने भरतपुरमा गरिएको पिसीआर परिक्षणमा ४२८ जनामा कोरोना पोजेटिभ आएको छ ।
रत्ननगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पौडेल भन्छन् यो आँकडा बढ्नुको मुख्य कारण कोराना पुष्टि भएर होम आइसोलेसनमा बसेकाहरुले लापरवाही गरि आइसोलेसनमा शुरक्षित तरिकाले नबस्दा परिवारमा अन्यलाई सार्दा बढेको हो । उनले त्यसरी एउटा घरको संक्रमितले परिवारका ३ जना सम्मलाई कोरोना सारेको पाइएको उनको भनाई छ ।
त्यसबाहेक पनि हस्पिटल जाने आउने गर्दा, बाहिर कामनै नपरी हिड्दा, स्वास्थ्य मापदण्ड पुरा नगरी बिना माक्स हिडडुल गर्दा पनि र सेनिटाईजर प्रयोग नगर्ने र बेलुका पख भट्टिमा पसेर रक्सी खाने प्रवृती पनि केहि ब्यक्तिमा देखिएकाले त्यसबाट पनि कोरोना सरेको पाइएको पौडेलको जिकिर छ ।
यसरी हेर्दा रत्ननगरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा फैलिरहेकोले सबैलाई सचेत रहेर लकडाउनको पुर्ण रुपमा पालना गर्न स्वास्थ्य शाखा प्रमुख पौडेलको आग्रह रहेको छ ।















