चितवन २४ असार । राप्ती नगरपालिका वडा नं ३ प्रगतिटोलकी सुजिता भण्डारीको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । अखिल नेपाल महिला संघ जिल्ला कमिटी चितवन सहित पालिका स्तरका कमिटीहरुले विहीवार सयुक्त विज्ञप्ती जारी गरी सुजिताको अपहरण पछि हत्या भएको भन्दै अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गरिएको हो ।
जिल्ला कमिटी कार्यबहाक अध्यक्ष विमला दुवाडी,भरतपुर महानगर कमिटी अध्यक्ष किरणकुमारी अधिकारी,राप्ती नगर कमिटी अध्यक्ष कौशिला थापा,खैरहनी नगर कमिटी अध्यक्ष मनकुमारी अधिकारी,रत्ननगर नगर कमिटी अध्यक्ष विरन्जना सापकोटा,कालिका नगर कमिटी अध्यक्ष शारदा रेग्मी,माडी नगर कमिटी अध्यक्ष सीता तिमिल्सिना,इच्छाकामना गाउँ कमिटी अध्यक्ष रिता अर्यालले सयुक्त रुपमा विज्ञप्ती जारी गरी पछिल्लो समय बढ्दै गएको महिला हिंसाका घट्ना प्रति ध्यानर्कषण भएको जनाइएको छ ।

विज्ञप्तीमा हालै चितवन राप्तीकी सुजिता भण्डारीको हत्यारालाई कारबाही,भरतपुर महानगरपालिका–१९, शारदानगरकी सविता भण्डारीको शंकास्पद मृत्यु भएको र मृत्युको कारण पत्ता लगाउन माग गरिएको छ । विगत देखि हालसम्म आउँदा हाम्रा कैयौं निर्दोष महिला दिदी बहिनी र चेलीबेटीले अनेक खालका हिंसा व्यहोर्दै आएका छन् र हालसम्म श्रृखलावद्ध जस्तै गरी देशका कैयौं क्षेत्र र हाम्रै चितवनमा समेत अपहरण र हत्याका घटनाहरु घटिरहेका भन्दै विज्ञप्तीमा यस्ता जघन्य अपराधका घटना हुन नदिन स्थानीय प्रशासन समक्ष हामी जोडदार माग गरिएको छ ।











