रत्ननगर भदौ २२ । चितवनको कालिका नगरपालिकाका चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाएकाछन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ ।
विगतका वर्षमा जस्तै यस वर्ष पनि नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीले सामूहिक रूपमा छोनाम (न्वागी) पर्व मनाएको हो । कालिका नगरपालिका वडा नं. ९ शक्तिखोर स्थित बगर बजारमा भेला भई नाचगानगरी पर्व मनाएकोछ ।
नेपाल चेपाङ यूवा संघ कालिका नगर कमिटीका अध्यक्ष कृष्ण वहादुर प्रजा चेपाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ढ्याङग्रो बजाएर कार्यक्रमको उद्धघाटन गरेका थिए ।
कार्यक्रममा बोल्दा नगर प्रमुख रेग्मीले बिदेशी संस्कार, अन्यको देखासिखिले हाम्रो सांस्कृतिक प्रवद्र्धनमा असर गरेको हुनाले आफ्नो संस्कृतिको संरक्षणमा आफै चासो राख्नुपर्ने बताए । संस्कृतिक संरक्षणले कालिका नगरमा आन्तरिक रुपमा पर्यापर्यटन भित्राउन सक्ने भएकाले यस्ता किसिमका कला संस्कृतिलाई संरक्षण गर्न जरुरी रहेको उनको भनाईछ ।
नगर प्रमुख रेग्मीले भने, “शक्तिखोर र सिद्धि क्षेत्रमा बाहुल्यता रहेको चेपाङ समुदायलाई राहतको पर्खाईमा बस्ने आरोप लाग्ने गरेको छ, यो आरोप र खण्डन मेट्न जरुरी छ । सिङगो चेपाङ समुदाय श्रममा विश्वास गर्छन भन्ने बिश्वास दिलाउन जरुरीछ । सधै अरुको भर परेर होईन आफ्नै मेहनतले अगाडी बढ्न सक्नुपर्छ ।”
चेपाङ समुदायले बिभिन्न चाड पर्वहरु मनाउदा आफ्नो दक्ष र शक्ति अनुसार घाँटी हेरेर हाड निल्नु जस्तै मनाउनुपर्ने सुझाव दिए । आय आर्जन र उत्पादन हुने कार्यतर्फ जोड दिन सम्पूर्ण चेपाङ समुदायलाई नगर प्रमुख रेग्मीले आग्रह गरे ।
चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष न्वागी पर्व मनाउने गरिएको कालिका नगर कमिटीका अध्यक्ष कृष्ण वहादुर प्रजा चेपाङले बताए । उनका अनुसार विसं २०६३ सालदेखि चेपाङ सङ्घको पहलमा सामूहिक रूपमा उत्सवकै रुपमा न्वागी मनाउँदै आइएको छ । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कुल अनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि महिनाभर न्वागी मनाउने परम्परा छ ।
चेपाङ समुदायमा पितृलाई नचढाइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने मान्यता छ । न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खान सुरु गर्ने दिनका रुपमा पनि लिइन्छ ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङ समुदायले कुनै काम नगरी रमाइलो गर्छन् । नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खुवाउने चलन छ ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार ३६४ जना चेपाङ छन् । सबैभन्दा धेरै चितवनमा मात्रै ३५ हजार छ सय ३७ सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् । यसैबीच मकवानपुरमा २३ हजार छ सय ५०, धादिङमा १७ हजार एक सय ६० र गोरखामा चार हजार दुई सय ६८ जना चेपाङको बसोबास छ । २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका निर्वतमान जिल्ला सभापति जितनारायण श्रेष्ठ, कालिकाका १ देखी ११ सम्मका वडा अध्यक्ष लगाएतले मन्तव्य राखेका थिए ।