चितवन । रत्ननगर
पूर्वी चितवन स्पोर्टस क्लबको आयोजनामा यहि असोज ३ र ४ गते बेल्सीमा रहेको कवर्डहलमा हुने बी र सी लेभलको पूर्वी चितवन स्तरिय ब्याडमिण्टन प्रतियोगिताको मुख्य प्रायोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी अनुबन्धित भएको छ ।
यहि असोज ३ र ४ गते शुक्रबार र शनिवारको दिन पारेर पूर्वी चितवनमा रहेका बी र सी लेभलका खेलाडीहरुलाई उर्जा मिलोस भनेर गर्न लागिएको प्रतियोगितामा हातेमालो गर्न एभिन्यु एजुकेशन कन्सलटेन्सी आएकोमा क्लबका अध्यक्ष सुरज न्यौपानेले धन्यवाद ब्यक्त गरे । अध्यक्ष न्यापानेले कार्यक्रमको तयारी तिब्र गतिमा अगाडी बढिरहेको बताउदै मुख्य प्रोयोजकमा एभिन्यु एजुकेशन कन्सलटेन्सी आएसँगै अझ सजिले हुने बिश्वास ब्यक्त गरे ।
सो कार्यक्रमका संयोजक केबल न्यौपानेले पूर्वी चितवनमा धरै संभावना बोकेका खेलाडीहरु रहेको र उनिहरुलाई बिभिन्न प्रतियोगिता मार्फत जागरुक गराउन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनले सो कार्यक्रममा खेलाडी पहिचानको लागि टिमनै बनाइएको बताउदै खेलाडीको स्तर हेरेर बी र सी लेभलको बर्गीकरण गरिने जानकारी दिए ।
उनले कार्यक्रममा दुवै बिधामा प्रथम हुनेलाई रु १५ हजार, द्धितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार गरी नगद पुरस्कारसँगै ट्रफी, मेडल तथा प्रमाणपत्रको पनि ब्यवस्था गरिएको जानकारी दिए । सो प्रतियोगितामा भाग लिन चाहाने टिमले प्रवेश शुल्क बापत रु १५०० रुपैया तिर्नु पर्ने संयोजक न्यौपानेको भनाई छ ।
प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा अनुबन्धित हुन पाएकोमा एभिन्यु एजुकेशन कन्सलटेन्सीका सञ्चालक तथा निर्देशक अमृत खरेलले खुसी ब्यक्त गरे । उनले आफु पनि पूर्वी चितवनवासी नै भएको बताउदै बालक, बृद्ध तथा युवा सबैमा रुचि देखिएको ब्याडमिन्टन खेललाई प्रोत्साहन गर्न मुख्य प्रायोजकको रुपमा अनुबन्धित हुन पाउदा खुसी लागेको बताउदै स्वस्थ जिवनको लागि खेल निकै अपरिहार्य रहेको बताए ।
भरतपुर पुल्चोकमा कार्यालय रहेको एभिन्यु एजुकेशन कन्सलटेन्सीले अष्ट्रेलिया, युके, क्यानडा, न्युजिल्याण्ड, अमेरिका लगाएतका देशमा बिद्यार्थीहरुलाई अध्ययनका लागि पठाउदै आएको छ ।















