चितवन- दोस्रो चरणअन्तर्गत चितवनमा आगामी चैतको २ गतेदेखि १८ गतेसम्म दुई चरणमा दादुरा–रुबेला खोप अभियान सुरु हुने भएको छ ।
अभियानअन्तर्गत चितवनका नौ महिनादेखि ५९ महिनासम्मका ५८ हजार ९८३ बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँदैछ ।
स्वास्थ्य कार्यालय चितवनमा बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला खोप समन्वय समितिका खोप अधिकृत अमृत महर्जनले जिल्लामा ५६८ खोप केन्द्रमार्फत बालबालिकालाई खोप लगाइने बताए ।
चितवनको पाँचवटा स्थानीय तहमा पहिलो चरणमा चैत २ देखि ७ गतेसम्म दादुरा–रुबेलाको खोप लगाइने उल्लेख गर्दै महर्जनले दोस्रो चरणमा चैत १० देखि १४ गतेसम्म खैरहनी नगरपालिका तथा चैत १० देखि १८ गतेसम्म राप्ती नगरपालिकामा खोप लगाइने बताए ।
स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपकप्रसाद तिवारीले यसअघि दादुरा–रुबेलाको खोप लगाइसकेका बालबालिकालाई समेत अनिवार्यरुपमा खोप लगाउनुपर्ने बताए । खोप लगाउनका लागि जिल्लामा १३२ जना खोप कार्यकर्ता तथा एक हजार १३६ जना स्वयंसेवक परिचालन गरिने तिवारीले बताए । चितवनमा सन् २०१९ मा १८ तथा सन् २०२० को हालसम्म चार जना बालबालिकालाई दादुरा रोग देखिएको तिवारीले जानकारी दिए ।
सरकारले यस वर्ष पहिलो चरणअन्तर्गत फागुन महिनामा प्रदेश १, २ र ५ तथा दोस्रो चरणअन्तर्गत चैत महिनामा बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा दादुरा-रुबेला खोप अभियान सञ्चालन गरेको छ ।
सरकारले सन् २०२३ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्य लिएर काम गर्दै आएको छ । यसअघि २०७१/०७२ मा दादुरा-रुबेला खोप अभियान सञ्चालन भएको थियो ।












