चितवन । चितवनको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा उपचारको क्रममा मृत्यु भएका युवामा दीर्घ रोगहरुसमेत रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरस (कोभिड–१९)को आशंकामा केही दिनदेखि आइसोलेसनमा राखिएका वीरगंज महानगरपालिका–२२ जगन्नाथपुरका ३० वर्षीय सन्तोष यादवका आज ९ः३० बजे मृत्यु भएको जनाएको छ ।
कोरोना विशेष अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीका अनुसार सोमबार दिउँसोबाट श्वासप्रश्वासमा केही समस्या बढेपछि अस्पतालकै सघन कक्ष ९आइसियु०मा सारिएको थियो । समस्या बढ्दै गएपछि आज बिहान बिहान ९ः३० बजे मृत घोषणा गरिएको डा अधिकारीले बताए ।
ती युवामा लुपस भन्ने रोगले मिर्गौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण देखिएको थियो । सोही उपचारका लागि चितवन मेडिकल कलेज पुगेका उनलाई तत्कालै कोरोना अस्पतालमा रिफर गरिएको थियो । उनी चैत ९ गते कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए ।
कोरोना परीक्षणका लागि स्वाब संकलन गरी १० गते नै काठमाडौँ पठाइएको छ । उनको रिपोर्ट आउन बाँकी भएकाले सुरक्षितसाथ रिपोर्ट नआउन्जेल आइसोलेसनमा राखिने डा अधिकारीले जानकारी दिए ।












