काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ को सङ्क्रमण रोकथाममा रु ५० लाख सहयोग गर्ने भएको छ ।
नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम, नियन्त्रण उपचार कोष’मा पार्टीका तर्फबाट एकमुष्ट रु ५० लाख जम्मा गर्ने निर्णय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संघीय सांसदले नेपाल सरकारद्वारा स्थापना गरिएको ‘कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १५ दिनको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने भएका छन् । सरकारद्वारा स्थापना गरिएको उक्त कोषमा काँग्रेसका संघीय सांसदले उक्त रकम दिने निर्णय भएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोगको सङ्क्रमण फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले एक हप्ताको लागि देशभर लकडाउन गर्ने निर्णय सकारात्मक भएको उल्लेख गर्दै काँग्रेस संसदीय दलले सो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई आग्रह गरेको छ ।
लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा श्रमिकलाई सहजरुपमा खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि सकारसँग आग्रह गर्दै काँग्रेस ससंदीय दलले वर्तमान विषम परिस्थितिमा सम्पूर्ण नेपाली एक जुट भई धैर्यसाथ चुनौतीको सामना गर्न अपिल समेत गरेको छ ।
यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीले कोभिड–१९ विशेष कोषमा रु पाँच लाख सहयोग उपलब्ध गराउने भएको छ । कोरोना भाइरसको प्रकोपलाई सामाना गर्न सरकारले गठन गरेको उक्त कोषमा पार्टीले सहयोग उपलब्ध गराउने निर्णय गरेको नेता सुन्दर पाण्डेले जानकारी दिए ।
यसैगरी, नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण व्यवसायी कोषबाट कोभिड–१९ सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोड सहयोग गर्ने भएको छ ।
महासङ्घको बैठकले विश्वमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित सङ्क्रमणलाई रोकथामका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । महासङ्घका महासचिव रोशन दाहालले देशमा परेको विपत्तिको सामना गर्नका लागि निर्माण व्यवसायीले समेत सरकारलाई हातेमालो गर्न उक्त रकम सहयोग गर्न लागेको जानकारी दिए ।
महासङ्घले आज बिहानदेखि चैत १८ गते साँझसम्म सरकारले गरेको ‘लकडाउन’को निर्णयको स्वागत समेत गरेको छ । कोभिड–१९ भाइरसका कारण आउनसक्ने विषम परिस्थितिको पूर्वतयारीअनुसार गरिएको ‘लकडाउन’को निर्णय महासङ्घले स्वागत गर्दछ”, महासचिव दाहालले भने ।
महासङ्घले ‘लकडाउन’को समयमा निर्माण व्यवसायी सदस्यले आआफ्नो निर्माण कार्य बन्द गरी घरभित्र सुरक्षितरुपमा बस्न सबैलाई आग्रहसमेत गरेको छ । अहिलेको असहज अवस्थामा समेत अतिआवश्यक निर्माण परियोजनामा खटिएका निर्माण व्यवसायीलाई आफू र मातहतका सबैको सुरक्षामा विशेष ध्यान दिनसमेत महासङ्घले अनुरोध गरेको छ ।











