-अजित अधिकारी
चितवन । माडीका विभिन्न क्षेत्रहरुमा रहेका भूमिहीन सुकुमबासी तथा घरविहीन गरिब तथा विपन्न परिवारका लागि माडी नगरपालिका र छिमेक समाज नेपालले घर निर्माण गर्ने भएको छ ।
कुसुम खोलाबाट आएर माडी नगरपालिका ७ देवेन्द्रपुरस्थित परुई खोलाको किनार तथा अन्य स्थानमा अस्थायीरुपमा घरटहरा बनाई बसोबास गर्दै आएका भूमिहीन सुकुमबासीहरुलाई स्थायी आवासको व्यवस्था गर्न लागिएको हो ।
स्थानीय सरकारको रुपमा रहेको माडी नगरपालिकाको सहयोग एवं छिमेक समाज नेपालको समन्वयमा अस्थायीरूपमा बसोबास गरेका १४० घरधुरी भूमिहीन सुकुमबासीहरुलाई आवासको व्यवस्था गर्न लागिएको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले जानकारी दिए ।
उनीहरुलाई स्थायीरूपमा बसोबासको लागि जग्गाको छनोट गरी घर बनाउँदा चाहिने गिटी, ढुङ्गा, बालुवाआदि जनश्रमदानद्वारा घर निर्माण गरिने भएको उनले बताए ।
सो नगरपालिकाले यसअघि पनि गरिब, विपन्न, दलित तथा भूमिहीन सुकुमबासीहरुको हकअधिकारका विषयमा निरन्तर आवाज उठाउँदै आइरहेको छ । अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोभिड १९ अर्थात कोरोना भाइरसको महामारीका कारण काम गरेर खाने श्रमिक, मजदुर वर्ग मारमा परेको कारण विशेषगरी गास, बास र कपासको रूपमासमेत वञ्चित रहेका भूमिहीन सुकुमबासी परिवारको लागि स्थानीय सरकारले प्रतिबद्धताअनुरुप घर निर्माण गर्न लागेको मेयर ढकालले बताए ।
उनका अनुसार माडीका विभिन्न स्थानहरुमा छरिएर रहेका भूमिहीन सुकुमबासी, गरिब तथा विपन्न वर्गका लागि घर निर्माणको लागि माडी नगरपालिकाको तर्फबाट १०० र छिमेक समाज नेपालले ४० गरी कुल १४० घर निर्माणको प्रक्रिया अघि बढाइएको हो । उनका अनुसार, ब्लक सिस्टमअनुसार एक घरधुरीबराबर दुई कोठाको घर र एउटा चर्पीको निर्माण गरिने छ ।
साथै, भूमिहीन सुकुमबासी, विपन्न परिवारहरु अहिलेको विषम परिस्थितिमा खान, बस्नबाटसमेत समस्यामा परेको हुँदा यस महामारीको संकटमा सबै मिलेर उदार भावनाका साथ मानवीय व्यवहार गर्नुपर्नेमा स्थानीय सरकारले जोड दिएको छ ।
स्थानीय सरकारले सबैमा नेपाल सरकारले पालना गरेको लकडाउनको नीतिनियमको पालना गरी सरकारलाई सहयोग गर्न र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को नियमानुसार रहेर मुखमा मास्क लगाउन खोक्दा, हाच्छ्युँ गर्दा मास्क तथा रुमालको प्रयोग गर्न, बारम्बार साबुनपानीले कम्तीमा ३० सेकेन्डजति मिचिमिची हात धुनसमेत सबैमा आग्रह गरेको छ ।
कोरोना भाइरसको संक्रमणबाट जोगिन कम्तीमा दुई मिटरको परमा दूरी कायम गरेर काम गर्नसमेत आह्वान गरेको छ । यसैगरी, भूमिहीन सुकुमबासी, गरिब, विपन्न परिवारको घर निर्माणमा लकडाउनको पूर्ण पालनागरी काम गर्नसमेत माडी नगरपालिकाले सबैमा अनुरोध गरेको छ ।











