तनहुँ । यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।
बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् ।
चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरबाही गर्नेलाई कारबाही गरिने चेतावनी दिए ।
वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो पर्यो भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारबाही गरिने दृढता व्यक्त गरे । उनका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को वितरण गर्न लागिएको छ । रासस












