चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर २४ जगतपुरबाट चैत २० गते पक्राउ परेका तीन जनालाई शुक्रबार सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय दिव्यनगरबाट प्रहरी सहायक निरीक्षक प्रेम चौधरीको कमाण्डमा खटाइएको प्रहरी गस्ती टोलीले चैत २० गते ३ बजेको समयमा मोटरसाइकल चेकजाँचका क्रममा मोटरसाइकल पछाडि सवार धनमाया भनिने सानुमाया मगरले झोलामा बोकेको एक किलो १५ ग्राम गाँजा फेला परेपछि निज महिलासहित मोटरसाइकल चालक प्रदीप विकलाई पक्राउ गरिएको हो ।

प्रहरीले भरतपुर २४ समीचोक बस्ने पदमबहादुर तामाङसँग खरिद गरी ल्याएको बताएपछि निजको घरमा घरमा खानतलासी गर्दा निजले घरमा बिक्री गर्न राखेको ३ किलो ८२८ ग्राम गाँजासमेत फेला परेकोले बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर २४ जगतपुरका १९ वर्षीय प्रदीप विक, सोही ठाउँका ५७ वर्षीय पदमबहादुर तामाङ, भरतपुर २५ शुक्रनगरका ४५ वर्षीय धनमाया भनिने सानुमाया मगर रहेका छन् । प्रहरीले उनीहरुको साथबाट प्रतिबन्धित लागूऔषध ४ किलो ९३६ ग्राम, प्रदेश २ ०३ ००५ प ६६८१ नम्बरको मोटरसाइकल पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । निजहरुमध्ये धनमाया भन्ने सानुमाया मगर र प्रदीप विलाई ६ महिनादेखि दुई वर्ष कैद र दुई हजारदेखि १० हजार रुपैयाँसम्म जरिवाना र पदमबहादुर तामाङलाई एक वर्षदेखि तीन वर्ष कैद र ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया