चितवन । आकस्मिक अवस्थामा प्रयोग हुने एम्बुलेन्सको दुरुपयोग गरी लागूऔषध कारोबार गर्ने गिरोहलाई चितवन प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भरतपुर २ स्थित जुन हलनजिकै चेकजाँचका क्रममा लागूऔषधसहित एक गिरोह पक्राउ परेको हो ।
बिरामी बनेर नवलपरासीबाट एम्बुलेन्स एम्बुलेन्स बुकिङ गरी आएको गिरोहको साथबाट नाइट्राजेपाम १८७ ट्याबलेट, स्पास्मो प्रोक्सिभन ९४ क्याप्सुल, कोरेक्स एक लिटर र ट्रमाडोल ४० ट्याबलेटसहित दुई जना पक्राउ परेका हुन् ।
एम्बुलेन्समार्फत लागूऔषध ओसारपसारमा संलग्न विनोद रानामगर, प्रवीण घर्तीको बयानको आधारमा उक्त लागूऔषधको माग गर्ने अञ्जन तिमिल्सिनालाई समेत भरतपुर आँखा अस्पतालअगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार निज विनोद रानामगर र प्रवीन घर्तीले चैत २४ गते नक्कली बिरामी बनेर एम्बुलेन्स चालकलाई फोन गरी बोलाएका थिए । बिरामी लिई बर्दघाट जाने र बर्दघाटबाटसमेत बिरामी ल्याउने भनी एम्बुलेन्सलाई भरतपुर आँखा अस्पतालअगाडि बोलाएको प्रहरीको रिपोर्टमा उल्लेख छ ।
प्रहरीका अनुसार विनोद रानामगर बिरामी भएको बहानामा बर्दघाट गएको, बर्दघाट पुगेपछि चालक एम्बुलेन्समा नै बसेको र अन्य दुई जना झरी गएकोमा केही समयमा आई यहाँबाट बिरामी लैजान नपर्ने भयो, हामीहरु फर्कौं भनेपछि एम्बुलेन्स फर्कनेक्रममा पक्राउ परेको हो ।
पक्राउ परेका तीनै जना विरुद्ध लागूऔषध मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । उनीहरुलाई दुई वर्षदेखि १० वर्षसम्म कैद तथा एक लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको प्रहरीले बताएको छ ।












